चुनौती छन्, तर समाधान पनि सम्भव छ : एमाले महासचिव पोखरेल
जेष्ठ, २२ काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीभित्र देखिएका चुनौतीहरूको समाधान आत्मसमीक्षा, कमजोरी स्वीकार, एकता र अनुशासनमार्फत सम्भव हुने बताएका छन्।
शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले पार्टीले हाल विभिन्न चुनौतीहरूको सामना गरिरहेको भए पनि ती असाध्य नभएको उल्लेख गरेका छन्। उनका अनुसार निर्वाचन परिणामले जनतासँगको सम्बन्ध कमजोर बनेको संकेत गरेको छ, तर त्यसलाई पुनः सुदृढ बनाउन सकिने अवस्था अझै कायम छ।
उनले पार्टी पुनर्जागरणका लागि खुला आत्मसमीक्षा, आफ्ना कमजोरीहरूको इमानदार स्वीकारोक्ति, संगठनात्मक एकता तथा अनुशासनलाई अपरिहार्य शर्तका रूपमा प्रस्तुत गरेका छन्। यस्ता प्रयासहरू संस्थागत तथा विधिसम्मत प्रक्रियामार्फत अघि बढेमा मात्र अपेक्षित सफलता हासिल गर्न सकिने उनको भनाइ छ।
हाल निर्वाचनपछिको समीक्षा र पार्टी पुनर्गठनको विषयलाई लिएर एमालेभित्र बहस तीव्र बन्दै गएको छ। यसै सन्दर्भमा पार्टी सचिवालय बैठकले पुनर्गठनसम्बन्धी कार्ययोजना तयार गर्न सुझाव संकलन गर्ने उद्देश्यसहित एक कार्यदलसमेत गठन गरेको छ। महासचिव पोखरेल पछिल्ला दिनहरूमा पार्टी पुनर्गठन र संगठन सुदृढीकरणको पक्षमा सक्रिय रूपमा धारणा राख्दै आएका छन्।




प्रतिक्रिया दिनुहोस्