कांग्रेसका बारा सभापति राजेश राय यादव निलम्बित

जेष्ठ २१ काठमाडौं । नेपाली कांग्रेसले बारा जिल्ला कार्यसमितिका सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गराउन सक्रिय भूमिका खेलेको तथा पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा यादवलाई निलम्बन गरिएको नेपाली कांग्रेसले जनाएको छ।

पार्टी केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा बिहीबार ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको बैठकले अन्तिम निर्णय नभएसम्मका लागि यादवलाई जिल्ला सभापतिको जिम्मेवारी तथा कामकाज गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको हो।

प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको भन्दै यादवविरुद्ध केन्द्रीय अनुशासन समितिमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा समितिले गत वैशाख ३० गते पाँच दिनको समयसीमा दिँदै पहिलो पटक स्पष्टीकरण सोधेको थियो।

तोकिएको अवधिमा कुनै जवाफ नआएपछि समितिले जेठ १२ गते पुनः तीन दिनको समय दिएर दोस्रो पटक स्पष्टीकरण माग गरेको थियो। तर, यादवले दोस्रो पटकको स्पष्टीकरण मागको समेत जवाफ नदिएको समितिले जनाएको छ।

दुई पटकसम्म स्पष्टीकरणको अवसर प्रदान गर्दा पनि कुनै प्रतिक्रिया नआएको र विषयमा थप अनुसन्धान आवश्यक देखिएकाले अन्तिम निर्णय नभएसम्मका लागि निलम्बन गरिएको समितिको निष्कर्ष छ।

प्रतिक्रिया दिनुहोस्