राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि विज्ञसँग छलफल गर्ने समितिको निर्णय
जेष्ठ २१ काठमाडौं । सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति ले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको छ।
विधेयकमाथिको दफावार छलफलका क्रममा सांसदहरूले उठाएका धेरै प्रश्नहरूको पर्याप्त जवाफ नआएकाले समितिले सम्बन्धित क्षेत्रका विज्ञहरूको सुझाव र राय लिन आवश्यक ठानेको हो।
बैठकमा सहभागी सांसदहरूले विधेयकलाई अझ परिपक्व, व्यावहारिक र प्रभावकारी बनाउन विशेषज्ञहरूसँग विस्तृत परामर्श गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। छलफलमा सहभागी सस्मित पोखरेल ले पनि विज्ञहरूसँग पर्याप्त समय लिएर व्यापक छलफल गरेपछि मात्र विधेयकलाई अगाडि बढाइने स्पष्ट पारे।
समितिकी सभापति डा. ओजश्वी शेरचन ले विधेयकको महत्त्वलाई जोड दिँदै आगामी बैठकमा विज्ञहरूलाई आमन्त्रण गरी छलफल सञ्चालन गरिने जानकारी दिइन्। उनका अनुसार न्याय प्रणालीलाई थप विश्वसनीय, वैज्ञानिक र प्रभावकारी बनाउन राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना आवश्यक छ।
सभापति शेरचनले न्याय निरूपण प्रक्रियालाई व्यवस्थित र भरपर्दो बनाउन उक्त विधेयक कोशेढुङ्गा सावित हुन सक्ने बताउँदै यसमाथिको छलफल व्यापक, पारदर्शी र त्रुटिरहित हुनुपर्नेमा जोड दिइन्। समितिले विज्ञहरूको सुझाव समेटेर विधेयकलाई थप परिष्कृत बनाउने तयारी गरेको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्