महावीर पुनको सुझाव: ‘हरेक प्रदेशमा फरेन्सिक ल्याब सम्भव छैन, एउटा अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला पर्याप्त’

जेष्ठ २१ काठमाडौं ।  प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्र का संस्थापक महावीर पुन ले नेपालमा प्रत्येक प्रदेशमा फरेन्सिक ल्याब स्थापना गर्ने प्रस्ताव व्यावहारिक नभएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’ माथिको छलफलका क्रममा उनले फरेन्सिक प्रयोगशालाका लागि आवश्यक उपकरण, प्रविधि र अन्तर्राष्ट्रिय मान्यता अत्यन्तै महँगो हुने भएकाले देशभर धेरै प्रयोगशाला सञ्चालन गर्न आर्थिक रूपमा कठिन हुने धारणा राखे।

उनका अनुसार फरेन्सिक ल्याबले अन्तर्राष्ट्रिय स्तरको आईएसओ मान्यता प्राप्त गर्नुपर्ने हुन्छ, जसका लागि उच्चस्तरीय उपकरण र ठूलो लगानी आवश्यक पर्छ। सीमित स्रोतसाधन भएका नेपालजस्ता देशले धेरै प्रयोगशालाभन्दा एउटा आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको केन्द्रीय प्रयोगशालामा लगानी गर्नु उपयुक्त हुने उनले बताए।

पुनले जटिल प्रकृतिका फरेन्सिक परीक्षणहरूको संख्या नेपालमा धेरै नहुने उल्लेख गर्दै केही विशेष प्रकृतिका परीक्षणहरू आवश्यक परेमा विगतझैँ विदेशका प्रयोगशालाको सहयोग लिन सकिने बताए। उनले कोरोना महामारीको सुरुआती चरणमा परीक्षणका नमुना विदेश पठाइएको उदाहरण पनि स्मरण गराए।

‘धेरै ठाउँमा साधनस्रोत छरेर कमजोर संरचना बनाउनु भन्दा एउटै केन्द्रलाई अत्याधुनिक र विश्वसनीय बनाउनु नेपालको लागि बढी व्यावहारिक विकल्प हो,’ उनले बैठकमा बताएका थिए।

उनले भावनात्मक रूपमा नभई देशको आर्थिक क्षमता, आवश्यकताका प्राथमिकता र उपलब्ध स्रोतसाधनका आधारमा निर्णय गर्न सांसदहरूलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्