राप्रपाका नेताहरुले दिए सामुहिक राजिनामा, १८३ जनाले गरे परित्याग

जेष्ठ, २१ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र ठूलो राजनीतिक हलचल देखिएको छ। उपत्यकामा उपलब्ध रहेका पदाधिकारी, केन्द्रीय सदस्य तथा जनवर्गीय संगठनका प्रतिनिधिहरू गरी १८३ जनाले सामूहिक रूपमा पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

राजीनामा दिने समूहमा उपाध्यक्ष मुकुन्द श्याम गिरी, महामन्त्रीहरू धवल शम्शेर राणा, दिलनाथ गिरी, केशवराज श्रेष्ठ लगायतका शीर्ष पदाधिकारीहरू रहेका छन्। उनीहरूमध्ये धेरैजना अध्यक्ष राजेन्द्र लिङ्देन द्वारा यसअघि कारबाहीमा परेका नेताहरू हुन्।

त्यसैगरी, नारायणप्रसाद कोइराला, सगुनसुन्दर लावती, धनसुर शाही, मीना शाही, दिलविकास राजभण्डारी, नानीमैया आचार्यलगायत नेताहरू पनि राजीनामा दिने समूहमा छन्। यस निर्णयसँगै पार्टीको संगठनात्मक संरचनामा उल्लेखनीय प्रभाव पर्ने अनुमान गरिएको छ।

राजीनामा दिने प्रमुख नेतामध्ये एक धवल शम्शेर राणा ले नयाँ राजनीतिक दल गठन गर्ने तयारी गरिरहेको स्रोतहरूले जनाएका छन्। यस कदमले राप्रपाभित्रको आन्तरिक विवाद अझ गहिरिने संकेत गरेको छ।

पार्टी नेतृत्व र असन्तुष्ट समूहबीचको पछिल्लो टकरावले राप्रपाको आगामी राजनीतिक रणनीतिमा अनिश्चितता बढाएको विश्लेषकहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्