कानून, न्याय तथा मानव अधिकार समितिले संक्रमणकालीन न्याय छिटो टुंग्याउन सरकारलाई आग्रह
जेष्ठ, २१ काठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बाँस्कोटाले संक्रमणकालीन न्यायसम्बन्धी थाँती रहेका विषयहरू छिटो टुंग्याउन सरकारलाई आग्रह गरेकी छन्।
ललितपुरमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै सभापति बाँस्कोटाले सत्य निरूपण तथा बेपत्ता पारिएका व्यक्तिसम्बन्धी मुद्दासहित मानव अधिकारसँग जोडिएका पुराना विषयहरू निष्कर्षमा पुर्याउन सरकार गम्भीर हुनुपर्ने बताइन्।
उनले संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउन कानुनी सुधार आवश्यक रहेको उल्लेख गर्दै संसदीय समितिले त्यसका लागि समन्वयकारी भूमिका खेल्न तयार रहेको स्पष्ट पारिन्।
सभापति बाँस्कोटाका अनुसार सरोकारवालासँग छलफल गरी देखिएका समस्याहरू समाधान गर्दै व्यावहारिक कानुन निर्माण गर्न समिति प्रतिबद्ध छ। उनले विकास साझेदार तथा विभिन्न फोरमबाट आउने नीतिगत सुझावलाई पनि छलफलमार्फत सम्बोधन गर्न सकिने बताइन्।
उनले मानव अधिकारसम्बन्धी प्रतिबद्धता कार्यान्वयनमा सरकारको दृढता आवश्यक रहेको उल्लेख गर्दै अब ढिलाइ भए समाधान झन् कठिन हुने चेतावनीसमेत दिइन्।




प्रतिक्रिया दिनुहोस्