सुशासन र तीव्र आर्थिक विकासमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री शिशिर खनाल
जेष्ठ, २१ काठमाडौं । ललितपुरमा आयोजित विकास बहस कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले सरकार सुशासन र तीव्र आर्थिक विकासमा दृढ प्रतिबद्धताका साथ अघि बढिरहेको बताएका छन्।
उनले नागरिकको परिवर्तनप्रतिको अपेक्षा बढ्दै गएको उल्लेख गर्दै ती आकाङ्क्षा पूरा गर्न सरकार, निजी क्षेत्र, विकास साझेदार तथा सबै सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए।
मन्त्री खनालका अनुसार सरकारले परम्परागत कार्यशैलीभन्दा बाहिर निस्केर परिणाममुखी र दिगो विकासलाई प्राथमिकतामा राखेको छ। उनले अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँगको सहकार्यलाई सुदृढ गर्दै राष्ट्रिय हित प्रवर्द्धन गर्ने नीति सरकारले लिएको पनि स्पष्ट पारे।
उनले क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा नेपालको आवाज र प्राथमिकताहरू प्रभावकारी रूपमा प्रस्तुत गर्ने प्रयास भइरहेको उल्लेख गर्दै विकास साझेदारीलाई अझ व्यवस्थित र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए।
स्थानीय सरकारलाई बलियो बनाउनु नै विकास र सामाजिक संघ–संस्थाका कामलाई प्रभावकारी बनाउने आधार भएको उनको भनाइ थियो। साथै, दिगो शान्ति, विकास र समृद्धिका लक्ष्य हासिल गर्न सबै पक्षले साझा प्रयास गर्नुपर्ने उनले बताए।




प्रतिक्रिया दिनुहोस्