कांग्रेसमा बृहत् एकताको पहल, संस्थापनइतर नेताहरूको सभापतिसँग भेट

जेष्ठ, २१ काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर पक्षका केही नेताहरूले पार्टी सभापतिसँग भेटवार्ता गरेका छन्।

निवर्तमान केन्द्रीय सदस्य गोविन्द भट्टराईको नेतृत्वमा गएको टोलीले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सभापतिसँग भेट गरी पार्टीभित्रको एकता र आगामी १५औँ महाधिवेशनबारे छलफल गरेको हो।

भेटका क्रममा नेताहरूले पार्टीका सबै पक्ष र समूहलाई समेटेर बृहत् एकता कायम गर्दै महाधिवेशनतर्फ अघि बढ्नुपर्ने विषय उठाएका थिए। नेता भट्टराईका अनुसार पार्टीलाई थप मजबुत बनाउन सबै पक्ष अट्ने वातावरण निर्माण गर्नेबारे सकारात्मक कुराकानी भएको थियो।

भेटमा उमेशजंग रायमाझी, गीता गुरुङलगायत नेताहरू सहभागी थिए।

छलफलका क्रममा सभापतिले पार्टीभित्रका सबै धार र विचारलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको नेताहरूले बताएका छन्। पार्टी एकता, आन्तरिक सहकार्य र आगामी महाधिवेशनलाई सफल बनाउने विषयमा दुवै पक्षबीच समझदारीका साथ संवाद भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्