नेपाली कांग्रेसद्वारा अजित मिजार परिवारलाई न्याय दिन माग
जेष्ठ, २१ काठमाडौं । नेपाली कांग्रेसले काभ्रेका अजित मिजारको परिवारलाई न्याय दिलाउन माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत एलिजा ढकाल संयोजक रहेको जातीय विभेदविरुद्ध सचेतना अभियान उपसमितिले महाराजगञ्ज मेडिकल क्याम्पसअगाडि प्लेकार्डसहित प्रदर्शन गरेको हो। कार्यक्रममा प्रतिष्ठानका उपप्रमुख मधु आचार्य, मोहना अन्सारीलगायतको सहभागिता रहेको थियो।
अन्तरजातीय विवाह गरेको पृष्ठभूमिमा काभ्रेको पाँचखालमा १० वर्षअघि अजित मिजार मृत अवस्थामा फेला परेका थिए। घटनापछि उनका परिवारले निरन्तर न्यायको माग गर्दै आएका छन्। मिजारको शव अझै अन्त्येष्टि हुन नसकेको अवस्थामा परिवारले न्यायका लागि संघर्ष जारी राखेको छ।
यसै क्रममा प्रतिष्ठानका प्रतिनिधिहरू मिजार परिवारलाई भेट्न पाँचखालस्थित उनको घरसमेत पुगेका थिए। उपसमितिकी संयोजक एलिजा ढकालले घटनाको निष्पक्ष, पारदर्शी र गहिरो छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताइन्।
परिवारसँगको भेटपछि ढकालले न्यायको लडाइँमा आफूहरू परिवारको साथमा रहेको बताउँदै सामाजिक न्यायको पक्षमा महाराजगञ्जमा प्रदर्शन गरिएको जानकारी दिइन्। उनका अनुसार न्याय सबै नागरिकको समान अधिकार भएकाले मिजार परिवारले न्याय पाउनुपर्नेमा कांग्रेसको जोड रहेको छ।




प्रतिक्रिया दिनुहोस्