राप्रपाको वैधानिकता नसकिएको दाबी, भ्रममा नपर्न प्रवक्ता श्रेष्ठको आग्रह

जेष्ठ, २१ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले पार्टीको वैधानिकता समाप्त नभएको स्पष्ट गर्दै यसबारे फैलाइएका भ्रममा नपर्न आग्रह गरेका छन्।

राप्रपा परित्याग गरेका धवल शम्शेर राणाले बुधबार जारी गरेको वक्तव्यमा जेठ १९ गतेदेखि राप्रपाको वैधानिकता सकिएको दाबी गरेका थिए। उक्त अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै प्रवक्ता श्रेष्ठले बिहीबार सामाजिक सञ्जालमार्फत राप्रपा अझै कानुनी रूपमा वैध रहेको बताएका हुन्।

श्रेष्ठले भने, “आरोप लगाउँदा पनि फेरि फर्केर आउनुपर्ने ठाउँ बाँकी राखेर लगाउनुस् साथीहरू। राप्रपाको वैधानिकता सकियो भनेर आरोप लगाइएछ, तर भ्रममा नपरौं। निर्वाचन कानुन, दलीय अभ्यास र हाम्रै अनुभवका आधारमा पनि राप्रपाको वैधानिकता अझै धेरै बाँकी छ।”

धवल शम्शेरले राप्रपाले वैधानिकता गुमाइसकेको दाबी गरेपछि पार्टीभित्र नयाँ विवाद उत्पन्न भएको छ। राप्रपाले भने कानुनी र प्रक्रियागत रूपमा पार्टीको वैधानिकतामा कुनै समस्या नरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्