लुम्बिनी सरकारका एमालेका चार मन्त्रीको सामूहिक राजीनामा, मन्त्रिपरिषद् पुनर्गठनको तयारी

 

जेष्ठ २०, काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। बुधबार उनीहरूले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष राजीनामा बुझाएका हुन्।

राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेमबहादुर सारु तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरी रहेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मुख्यमन्त्री आचार्यले मन्त्रीहरूको राजीनामा स्वीकृत गर्दै प्रदेश सरकारमा उनीहरूले पुर्‍याएको योगदानको प्रशंसा गरेका छन्।

प्रदेश सरकारको संरचना पुनर्गठन गर्ने तयारीअन्तर्गत मन्त्रीहरू परिवर्तन गरिएको जनाइएको छ। यसअघि नै लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या घटाएर आठमा सीमित गर्ने निर्णय गरिसकेको छ। मन्त्रालय संख्या कटौती गर्ने विषय प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको छ।

सत्ता साझेदार दलहरूबीच सरकार पुनर्गठनबारे छलफल चलिरहेका बेला एमालेले आफ्ना तर्फबाट सहभागी मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको हो।

स्रोतका अनुसार मुख्यमन्त्री चेतनारायण आचार्य यथावत् रहनेछन् भने एमालेबाट सरकारमा सहभागी हुने नयाँ मन्त्रीहरूको नामबारे पार्टीभित्र आन्तरिक छलफल भइरहेको छ।

मन्त्रिपरिषद् पुनर्गठनसँगै प्रदेश सरकारलाई थप चुस्त, प्रभावकारी र मितव्ययी बनाउने उद्देश्य रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्