मोदीसँगको भेटपछि रवि लामिछाने : विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढ्न सहमत छौं

जेष्ठ २०, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता फलदायी र अर्थपूर्ण भएको बताएका छन्। उनले नेपाल र भारत विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढ्नुपर्ने धारणा दुवै पक्षबीच साझा रहेको उल्लेख गरेका छन्।

बुधबार नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेपछि सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै लामिछानेले करिब एक घण्टा लामो संवाद भएको जानकारी दिएका हुन्।

“आज माननीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक घण्टा लामो, अत्यन्त फलदायी र अर्थपूर्ण संवाद गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ,” लामिछानेले लेखेका छन्, “नेपाल र भारतले विगतका सीमिततालाई पार गर्दै विकास कूटनीतिको नयाँ युगतर्फ अग्रसर हुने भविष्यबारे मेरो पनि तपाईंको जस्तै दृष्टिकोण छ।”

उनले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन साझा सभ्यता, डिजिटल कनेक्टिभिटी तथा निर्वाध सम्पर्क विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका छन्। यसबाट दुई देशबीचको प्रगति, सहकार्य र पारस्परिक विश्वास अझ मजबुत बन्न सक्ने उनको विश्वास छ।

यसअघि भारतीय प्रधानमन्त्री मोदीले पनि भेटवार्तापछि सामाजिक सञ्जाल एक्समार्फत नेपाललाई भारतको ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीतिअन्तर्गत प्राथमिकता प्राप्त साझेदारका रूपमा रहेको उल्लेख गरेका थिए।

“हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल एक प्राथमिकता साझेदार हो र हामी हाम्रा दुई देशबीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौं,” मोदीले लेखेका छन्।

पाँचदिने भारत भ्रमणमा रहेका सभापति लामिछानेले यसअघि भारतका गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ता गरिसकेका छन्। भ्रमणका क्रममा उनले भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनसँग समेत भेट गरेका थिए भने भाजपा मुख्यालयको अवलोकन पनि गरेका थिए।

लामिछानेको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध तथा द्विपक्षीय सहकार्यका विविध आयाममा केन्द्रित महत्वपूर्ण राजनीतिक भ्रमणका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्