प्रधानमन्त्री शाहको राजीनामा माग गर्दै राष्ट्रिय सभामा विष्णु विश्वकर्माको आलोचना

जेष्ठ २०,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई राष्ट्रहितविपरीत भएको दाबी गर्दै उनले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका हुन्।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विश्वकर्माले प्रधानमन्त्री शाहले सांसदहरूले उठाएको प्रश्नको उत्तर दिनुको सट्टा आधारहीन र तथ्यहीन अभिव्यक्ति दिएको आरोप लगाए।

प्रधानमन्त्रीले प्रतिनिधिसभामा “नेपालले पनि भारतको भूमि धेरै ठाउँमा अतिक्रमण गरेको रहेछ” भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै विश्वकर्माले त्यसको कुनै तथ्यगत आधार नरहेको दाबी गरे। उनले उक्त भनाइले नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि प्रत्यक्ष आँच पुर्‍याएको जिकिर गरे।

“प्रधानमन्त्रीले सांसदको सोधिएको प्रश्नको उत्तर दिन छाडेर नसोधिएको विषयमा कपोलकल्पित, आधारहीन र नाटकीय अभिव्यक्ति दिनुभयो,” विश्वकर्माले भने, “त्यसले सच्चा नेपालीलाई लज्जाबोध गराएको मात्र होइन, राष्ट्रहितविपरीत बोलेर राष्ट्रघात गर्ने काम भएको छ।”

उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘विखण्डनकारी’ र ‘आत्मसमर्पणवादी’ भन्दै त्यसको घोर विरोध र निन्दा गरे। साथै, नेपालले भारतको कुन भूभाग, कहाँ र कति अतिक्रमण गरेको हो भन्ने यकिन तथ्यांक सार्वजनिक गर्न प्रधानमन्त्रीलाई चुनौती दिए।

विश्वकर्माले प्रधानमन्त्रीसँग उक्त जानकारी कुन प्रतिवेदनमा आधारित भएर दिइएको हो भन्ने स्पष्ट पार्न माग गर्दै सम्बन्धित प्रतिवेदनसहित राष्ट्रिय सभामा उपस्थित भएर जवाफ दिन आग्रह गरे।

सांसद विश्वकर्माले प्रधानमन्त्रीको अभिव्यक्तिपछि नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपाली भूमिमा हस्तक्षेप गरेको आरोप पनि लगाए। उनका अनुसार नारायणी नदीमा निर्माणाधीन तटबन्ध निर्माण कार्य रोक्न भारतीय पक्षले दबाब दिएको र त्यसका कारण निर्माण प्रभावित भएको छ।

विदेशी सुरक्षा बलको दबाबमा नेपालको विकास निर्माण कार्य रोक्नु अर्को राष्ट्रघात भएको दाबी गर्दै उनले सरकारलाई राष्ट्रिय स्वाभिमानको रक्षा गर्न आग्रह गरे।

उनले नेपाल–भारत सम्बन्ध संवेदनशील अवस्थामा रहेका बेला प्रधानमन्त्रीले आफ्नो पार्टीका सभापतिलाई भारत पठाएको विषयप्रति पनि टिप्पणी गर्दै त्यसलाई अनुपयुक्त कदमको संज्ञा दिए।

सांसद विश्वकर्माले भारतले लिपुलेक क्षेत्रमा एकपक्षीय गतिविधि गर्दै आएको आरोप लगाउँदै नेपालले हालसम्म कुनै पनि छिमेकी राष्ट्रको भूमि अतिक्रमण नगरेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्