प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट राष्ट्रघाती अभिव्यक्ति दिनुभयो : केपी शर्मा ओली
जेष्ठ २०, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ भन्दै कडा आलोचना गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।
प्रधानमन्त्रीले संसद्मा नेपालले पनि भारतको जमिन विभिन्न ठाउँमा मिचेको भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै ओलीले त्यसलाई असत्य र राष्ट्रहितविपरीत भएको दाबी गरे।
“उहाँ (प्रधानमन्त्री) ले देशद्रोही कुरा गर्नुभयो। नेपालले भारतको जमिन धेरै ठाउँमा मिचेको छ भनेर भन्नुभयो,” ओलीले भने, “धेरै ठाउँमा होइन, एक ठाउँमा पनि नेपालले भारतको सीमा मिचेको छैन।”
ओलीले प्रधानमन्त्रीको व्यवहारलाई ‘बचकना’, ‘लापरबाहीपूर्ण’ र ‘अहंकारी’ भएको टिप्पणी पनि गरे। आफ्नै सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री बैठकबाट उठेर बाहिरिएको प्रसंग उल्लेख गर्दै उनले त्यसप्रति पनि कटाक्ष गरे।
“के इमर्जेन्सी थियो ? कुनै इमर्जेन्सी हुन सक्दैन। यो बचकना, लापरबाही र अहंकार हो,” उनले भने।
प्रधानमन्त्रीले सीमा जस्तो संवेदनशील विषयमा तथ्यहीन अभिव्यक्ति दिएको आरोप लगाउँदै ओलीले संसद्को रोष्ट्रमबाट यस्ता विषयमा बोल्दा विशेष जिम्मेवारी र सावधानी आवश्यक पर्ने बताए।
“असत्य, झुट र राष्ट्रघाती वचन प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट बोल्नुभयो। त्यस्ता कुरा बोल्नुहुँदैन थियो। कसको पक्षमा, केका लागि बोलियो ?” भन्दै उनले प्रश्नसमेत उठाए।
प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको बैठकमा नेपाल–भारत सीमा विवादबारे बोल्दै ‘भारतले नेपालको मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि त्यसको राजनीतिक वृत्तमा व्यापक प्रतिक्रिया आइरहेको छ।




प्रतिक्रिया दिनुहोस्