कानुन समितिको कार्यविधि सर्वसम्मतिले पारित

जेष्ठ २०, काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले आफ्नो कार्यविधि सर्वसम्मतिले पारित गरेको छ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले कार्यविधिमाथि दफावार छलफल गर्दै आवश्यक सुझावहरू समेटेर कार्यविधि, २०८३ पारित गरेको हो।

समितिकी सभापति समीक्षा बास्कोटाले सदस्यहरूबाट प्राप्त भएका महत्वपूर्ण सुझावहरूलाई समावेश गरी कार्यविधि पारित गरिएको जानकारी दिइन्। उनले प्रतिनिधि सभा नियमावलीमा हालै गरिएका नयाँ व्यवस्थाहरूलाई समेत कार्यविधिमा समेटिएको स्पष्ट पारिन्।

बैठकमा निर्णय सार्वजनिक गर्दै सभापति बास्कोटाले भनिन्, “समितिको कार्यविधि मस्यौदा, कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यविधि, २०८३ मा माननीय सदस्यहरूबाट प्राप्त सम्पूर्ण सुझावहरू समावेश गरी सर्वसम्मतिले पारित गरिएको घोषणा गर्दछु। यो कार्यविधि हामीले पर्याप्त छलफलपछि पारित गरेका छौं।”

बैठकका क्रममा सांसदहरूले संवैधानिक आयोगहरूले संसद्मा पेश गर्ने विभिन्न प्रतिवेदनहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न समितिले सरकारलाई आवश्यक दबाब दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले सरकारलाई उत्तरदायी र जवाफदेही बनाउन समितिले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा पनि राखेका थिए।

समितिले नयाँ कार्यविधि पारित भएसँगै आफ्नो कार्यसम्पादनलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्