भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

जेष्ठ २०, काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।

भारत भ्रमणमा रहेका सभापति लामिछानेले बिहीबार भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गरेका हुन्। भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल फेसबुकमार्फत भेटवार्ताका तस्बिर सार्वजनिक गरेका छन्।

भेटबारे जानकारी दिँदै मोदीले साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने नेपालको नयाँ नेतृत्वको इच्छालाई स्वागत गरेको उल्लेख गरेका छन्।

“हाम्रो ‘नेबरहुड फर्स्ट’ नीतिअन्तर्गत नेपाल एक प्राथमिकता प्राप्त साझेदार हो। हामी दुई देशबीचको विशेष र बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौं,” मोदीले सामाजिक सञ्जालमा लेखेका छन्।

भारत भ्रमणका क्रममा सभापति लामिछानेले बुधबार भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेका थिए। उनले भाजपा मुख्यालयको समेत अवलोकन गरेका थिए।

त्यसैदिन उनले भारतका गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस. जयशंकरसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। भेटवार्तामा नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय तथा द्विपक्षीय सहकार्यका विभिन्न आयामबारे छलफल भएको जनाइएको छ।

मंगलबार भारत पुगेका लामिछाने २२ गते नेपाल फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्