राष्ट्रपति ‘रबरस्टाम्प’ बने, संविधानको रक्षकको भूमिका निर्वाह भएन : केपी शर्मा ओली

जेष्ठ २०, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेल संविधानको रक्षक तथा पालकको भूमिकामा प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको आरोप लगाएका छन्। उनले राष्ट्रपतिले संवैधानिक जिम्मेवारीअनुसार भूमिका निर्वाह गर्नुको सट्टा ‘रबरस्टाम्प’ जस्तो व्यवहार गरेको टिप्पणी गरेका हुन्।

पार्टीको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणासम्बन्धी दुईदिने कार्यशालाको उद्घाटन कार्यक्रममा बिहीबार बोल्दै अध्यक्ष ओलीले पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भ उठाउँदै राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाए।

उनले राष्ट्रपतिले जनआन्दोलनपछिको राजनीतिक अवस्थाबारे चर्चा गर्दै लोकतन्त्र जोगाएको दाबी गरे पनि व्यवहारमा संविधानविपरीतका गतिविधिमा हस्ताक्षर गर्ने काम भएको आरोप लगाए।

“प्रधानमन्त्री बन्न संविधान चाहिएन। संविधानविपरीतको प्रधानमन्त्री बन्छ। संविधानविपरीत प्रतिनिधिसभा विघटन हुन्छ। अनि सम्माननीय राष्ट्रपति ठूलो जुक्तिले लोकतन्त्र बचाएँ भन्नुहुन्छ,” ओलीले भने।

उनले राष्ट्रपति पौडेल संविधानको संरक्षण गर्ने भूमिकाभन्दा पनि आएका निर्णयहरूमा हस्ताक्षर गर्ने ‘रबरस्टाम्प’को भूमिकामा सीमित भएको दाबी गरे।

“अहिलेसम्म आइपुग्दा राष्ट्रपति जी रबरस्टाम्प बनेर बस्नुभएको छ। संविधानको रक्षक र पालक बनेर जुन काम गर्नुपर्ने हो त्यो नगरेर, जुन काम गर्न नहुने हो त्यो गर्नुभएको छ। जेमा पनि हस्ताक्षर गर्ने काम भइरहेको छ,” उनले आरोप लगाए।

अध्यक्ष ओलीले राष्ट्रपतिको संस्था सम्मानित भएकाले आफू त्यसबारे धेरै टिप्पणी गर्न नचाहेको उल्लेख गरे। तर लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्थालाई क्रमिक रूपमा कमजोर बनाउने काम भइरहेको भन्दै त्यसप्रति आफ्नो असहमति रहेको बताए।

“सम्मानित संस्थाबारे बोल्ने मेरो इच्छा छैन। तर वास्तवमा ठूलो जुक्तिका साथ लोकतन्त्रलाई एकपछि अर्को कदमबाट सिध्याउने काम भएको छ। त्यो कुरा हामीलाई मान्य छैन,” उनले भने।

ओलीले वर्तमान राजनीतिक अभ्यासले लोकतान्त्रिक प्रणाली र संविधानको मर्मलाई कमजोर बनाउने खतरा रहेको भन्दै संवैधानिक संस्थाहरूले आफ्नो जिम्मेवारी निष्पक्ष र प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्