संसद् अवरोधप्रति सरकार गम्भीर बन्नुपर्छ : एमाले सांसद देवकोटा

जेष्ठ २०, काठमाडौं । नेकपा (एमाले) की राष्ट्रिय सभा सदस्य सम्झना देवकोटाले लगातार चार दिनदेखि राष्ट्रिय सभाको बैठक सञ्चालन हुन नसकेको विषयमा सरकार गम्भीर बन्नुपर्ने बताएकी छन्।

राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद देवकोटाले सदनको कामकारबाही अवरुद्ध हुँदा आफूहरू दुःखी भएको उल्लेख गर्दै संसद् सञ्चालनका लागि सरकारले आवश्यक पहल गर्नुपर्ने धारणा राखिन्।

“चार दिनदेखि यो सदन चल्न नसक्दा दुःखी पनि छौं,” उनले भनिन्, “प्रतिनिधिसभा र राष्ट्रिय सभा अलग त होला, तर फरक छैन भन्ने हामीले अनुभूति गरिरहेका छौं।”

प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभामा समेत विरोध जारी रहेकाले बैठक सञ्चालन प्रभावित भएको छ। यही सन्दर्भमा देवकोटाले प्रतिनिधिसभामा उठेको विषयको प्रभाव राष्ट्रिय सभामा पनि परेको बताएकी हुन्।

गत आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवाद कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। सोही क्रममा उनले “भारतले नेपालको मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ” भन्ने अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्रीको उक्त भनाइको विरोध गर्दै प्रतिपक्षी दलका सांसदहरूले राष्ट्रिय सभाको बैठक अवरुद्ध गर्दै आएका छन्। उनीहरूले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे स्पष्ट पार्नुपर्ने माग गर्दै आएका छन्।

एमाले सांसद देवकोटाले पनि प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति असहमति जनाउँदै सीमा जस्तो संवेदनशील विषयमा जिम्मेवार अभिव्यक्ति आवश्यक रहेको बताएकी छन्।

प्रधानमन्त्रीको भनाइलाई लिएर संसद्मा जारी विवादका कारण संघीय संसद्का दुवै सदनको नियमित कार्यसूची प्रभावित हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्