अराजकतन्त्र धेरै समय टिक्दैन, उत्ताउलिएर अघि नबढ्नुस् : केपी शर्मा ओली
जेष्ठ २०, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक परिस्थितिप्रति टिप्पणी गर्दै संस्था र व्यक्तिहरूलाई उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका छन्। उनले समय र परिस्थिति सधैं एकनास नहुने भएकाले संयमित ढंगले अघि बढ्नुपर्ने बताएका छन्।
पार्टीको दुईदिने कार्यशालाको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वर्तमान अवस्था स्थायी नरहने उल्लेख गर्दै भने, “संस्था र व्यक्तिहरूलाई म भन्न चाहन्छु, समय र परिस्थिति सधैं एकैनासको रहँदैन। उत्ताउलिएर धेरै अघि नबढ्नुहोला। सधैं एउटै परिस्थिति रहँदैन।”
उनले सरकारको आलोचना गर्ने व्यक्तिहरूमाथि प्रहरी र प्रशासनको प्रयोग गरी दबाब सिर्जना गर्ने काम भइरहेको आरोप पनि लगाए। सरकार पूर्वाग्रही ढंगले अघि बढेको दाबी गर्दै ओलीले वर्तमान शासनशैलीप्रति असन्तुष्टि व्यक्त गरे।
राणाशासन, पञ्चायती व्यवस्था र राजतन्त्रजस्ता शासन प्रणालीहरू समयसँगै समाप्त भएको स्मरण गराउँदै उनले अहिलेको अवस्थालाई ‘अराजकतन्त्र’को संज्ञा दिएका छन्। “यो अराजकतन्त्र कति समयको पाहुना हो ? यो लामो समय चल्न सक्दैन,” उनले भने।
अध्यक्ष ओलीले राज्य संयन्त्र निष्पक्ष नभई पूर्वाग्रहका आधारमा सञ्चालन भइरहेको आरोपसमेत लगाए। “यो राज्य होइन, पूर्वाग्रहको पोको हो,” उनले टिप्पणी गरे।
उनले भदौ २३ र २४ गतेका घटनालाई ‘पचाउने प्रयास’ भइरहेको दाबी गर्दै आफू बाबुको किरिया बसेर सकेलगत्तै बिना कुनै आधार पक्राउ पुर्जी जारी गरिएको आरोप लगाए।
“गौरीबहादुर कार्कीको हावा प्रतिवेदनका आधारमा पक्राउ पुर्जी दिने, पक्राउ गर्ने?” भन्दै उनले सरकारको कदममाथि प्रश्न उठाए।
कार्यक्रममा ओलीले वर्तमान राजनीतिक गतिविधि र सरकारको कार्यशैलीप्रति आलोचनात्मक धारणा राख्दै लोकतान्त्रिक मूल्य र विधिको सम्मान हुनुपर्नेमा जोड दिएका थिए।




प्रतिक्रिया दिनुहोस्