आज राष्ट्रिय सभाको बैठक बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने

जेष्ठ २०, काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक मध्याह्न १२:१५ बजेका लागि बोलाइएको छ।

बैठकमा राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको जानकारी गराउने कार्यसूची रहेको छ।

त्यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। सो प्रस्तावमाथि सामान्य छलफल प्रारम्भ हुने संसद सचिवालयले जनाएको छ।

यस्तै, अर्थमन्त्री वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकमा पेश गर्ने कार्यसूची रहेको छ।

आजको बैठकमा बजेट तथा विभिन्न विधेयकसम्बन्धी विषयमा सांसदहरूबीच छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्