हस्ताक्षर फिर्तापछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको पद तत्काललाई सुरक्षित
जेष्ठ, १९ काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी प्रदेश सभा सदस्य डम्मरी महराले आफ्नो हस्ताक्षर फिर्ता लिएपछि शाहको पद तत्कालका लागि सुरक्षित भएको छ।
नेपाली कांग्रेसभित्रै मुख्यमन्त्री शाहलाई संसदीय दलको नेताबाट हटाउन बहुमत सांसदहरूले मंगलबार अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। प्रदेश सभा सदस्य दिवानसिंह विष्टको नेतृत्वमा दर्ता गरिएको उक्त प्रस्तावमा नौ जना सांसदको हस्ताक्षर रहेको थियो।
तर प्रस्तावमा हस्ताक्षर गरेकी सांसद महराले सरकार वा संसदीय दलको नेतृत्व परिवर्तनभन्दा पार्टीभित्रको एकता र प्रदेशको बजेट निर्माणलाई प्राथमिकता दिनुपर्ने भन्दै आफ्नो हस्ताक्षर फिर्ता लिएकी छन्।
हस्ताक्षर फिर्तासँगै अविश्वास प्रस्तावको समीकरण प्रभावित भएको छ भने मुख्यमन्त्री शाहमाथि तत्काल देखिएको राजनीतिक संकट टरेको छ।
कांग्रेसभित्र नेतृत्व परिवर्तनको विषयलाई लिएर देखिएको आन्तरिक विवाद भने अझै पूर्ण रूपमा समाधान भइसकेको छैन। यद्यपि महराको निर्णयपछि मुख्यमन्त्री शाहले तत्काल पद गुमाउने सम्भावना टरेको राजनीतिक वृत्तमा विश्लेषण गरिएको छ।




प्रतिक्रिया दिनुहोस्