नेकपाले रास्वपालाई बालेनको सीमा विवाद अभिव्यक्तिमा धारणा सार्वजनिक गर्न माग्यो

जेष्ठ, १९ काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को “नेपालले भारतको भूमि मिचेको रहेछ” भन्ने अभिव्यक्तिपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आफ्नो धारणा संसदमा स्पष्ट गर्न माग गरेको छ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले रास्वपाले आम नेपाली नागरिकका नाममा आफ्नो दृष्टिकोण सार्वजनिक गर्नुपर्ने औंल्याए। उनले भने, “देशको जिम्मा लिएको भएकाले रास्वपा पनि प्रतिनिधिसभामा यसको राष्ट्रिय धारणा के हो भन्ने स्पष्ट गर्नु आवश्यक छ।”

दुलालले प्रधानमन्त्रीको अभिव्यक्तिलाई रेकर्डबाट हटाउनुपर्ने र सत्यतथ्यसहित देशवासीको नाममा पुनः सम्बोधन गर्नुपर्ने पनि बताए। उनले यस विषयलाई राष्ट्रिय महत्त्वको मुद्दा बनाएर उच्चस्तरीय राजनीतिक छलफल, बैठक र सदनको पहलबाट समाधान गर्नुपर्ने सुझाव दिए।

उनले विपक्षी दलहरूले सदन डिस्टर्ब गर्ने नियत नभएको स्पष्ट गर्दै, सभामुखमार्फत प्रधानमन्त्रीलाई रुलिङ गराउन आग्रह गरे।

यसैबीच, नेकपाले यस विषयलाई संवेदनशील राष्ट्रिय मुद्दा मानेर तत्काल समाधान आवश्यक रहेको जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस्