नेताको बचाउमा राष्ट्रको हित कमजोर नबनाउन राप्रपाको चेतावनी

जेष्ठ, १९ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले नेताको अभिव्यक्तिलाई सही सावित गर्न देशकै हितविपरीत प्रमाण खोज्ने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरेकी छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले संवेदनशील विषयमा जिम्मेवार, सावधानीपूर्ण र कूटनीतिक रूपमा परिपक्व भाषा प्रयोग गर्नुपर्ने बताइन्। यस्ता अभिव्यक्तिले देशको अन्तर्राष्ट्रिय छवि र राष्ट्रिय हितमा असर पार्न सक्ने उनको भनाइ थियो।

“आजभोलि केही मानिसहरू आफ्ना नेताले जे भन्यो त्यो सही सावित गर्न देशकै विरुद्ध प्रमाण खोज्न दौडिरहेका छन्,” ओलीले भनिन्।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभामा नेपाल–भारत सीमा विवादबारे बोल्ने क्रममा “नेपालले पनि भारतको केही भूमि मिचेको रहेछ” भन्ने अभिव्यक्ति दिएपछि त्यसलाई लिएर राजनीतिक विवाद चर्किएको छ। उक्त अभिव्यक्तिको बचाउमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केही सांसद तथा मन्त्रीहरू उभिएपछि ओलीले अप्रत्यक्ष रूपमा त्यसतर्फ संकेत गर्दै टिप्पणी गरेकी हुन्।

उनले नेताको बचाउ गर्ने नाममा नेपालको दाबी र राष्ट्रिय अडान कमजोर पार्ने काम राष्ट्रवाद हुन नसक्ने स्पष्ट पारिन्।

“नेताको एउटा अभिव्यक्तिलाई बचाउन आफ्नो राष्ट्रकै दाबी कमजोर बनाउने काम कदापि राष्ट्रवाद होइन,” उनले भनिन्, “व्यक्ति पूजा र नेता पूजा यति खतरनाक हुन सक्छ कि एक दिन मानिसले नेताको बचाउ गर्दै आफ्नो देशको पक्ष छाडेको समेत थाहा नपाउन सक्छ।”

सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसदमा जारी विवादका बीच ओलीको टिप्पणीलाई विपक्षी दलहरूको थप दबाबका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्