सीमा विवाद र बालेनको अभिव्यक्तिपछि प्रतिनिधिसभामा तनाब, सभामुखको संवादमार्फत समाधान खोज्ने प्रयास
जेष्ठ, १९ काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर उत्पन्न विवादले मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि असर गरेको छ। विपक्षी दलहरूको निरन्तर अवरोधबीच सभामुख डोलप्रसाद अर्याल (डीपी)ले विषयप्रति आफू र सरकार दुवैको ध्यानाकर्षण भएको बताएका छन्।
आइतबारको बैठकमा प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने उल्लेख गर्दै भारतले नेपालको मात्र नभई नेपालले पनि केही स्थानमा भारतको भूमि मिचेको हुन सक्ने बताएका थिए। उक्त भनाइपछि विपक्षी दलहरूले अभिव्यक्तिको आधार के हो भन्ने प्रश्न उठाउँदै तथ्य सार्वजनिक गर्न वा प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग गर्दै आएका छन्।
मंगलबार प्रतिनिधिसभामा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले उक्त विषयलाई गम्भीर रूपमा लिन सभामुखलाई आग्रह गर्दै तत्काल उच्चस्तरीय राजनीतिक छलफलको पहल गर्न माग गरे। उनले सदनको कार्यसूचीभन्दा पहिले सीमा जस्तो संवेदनशील विषयमा छलफल आवश्यक रहेको बताएका थिए।
यसैबीच सभामुख अर्यालले आफूले उक्त विषयलाई गम्भीर रूपमा लिएको र सरकार तथा विपक्षी दलहरूसँग निरन्तर संवाद भइरहेको स्पष्ट पारे। तर उनले बजेटभन्दा यो विषय गम्भीर हो भन्ने आशय आफूले नराखेको भन्दै गलत व्याख्या भएको बताए।
“माननीय सदस्यहरूले उठाएको विषयमा मेरो ध्यानाकर्षण भएको छ,” सभामुख अर्यालले भने, “सरकारले पनि यसलाई गम्भीर रूपमा लिएको छ, र हामी संवादमार्फत समाधानमा पुग्ने प्रयास गरिरहेका छौं।”
उनले संसदको कार्यसूचीलाई अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याउँदै सबै पक्षलाई छलफल र संवादमार्फत निष्कर्षमा पुग्न आग्रह गरे।
तर विपक्षी दलहरू भने सभामुखको आग्रहसँग सहमत भएनन् र विरोध जारी राखे। अन्ततः सभामुखले राष्ट्रपतिबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी सूचना सभामा प्रस्तुत गर्दै बैठक स्थगित गरेका छन्।
अर्को प्रतिनिधिसभा बैठक जेठ २५ गतेका लागि बोलाइएको छ।




प्रतिक्रिया दिनुहोस्