प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबारे विवादपछि प्रतिनिधिसभा बैठकमा विपक्षीको अवरोध

जेष्ठ, १९ काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलहरूले अवरोध गरेका छन्। दिउँसो १ बजे बस्ने तय भएको बैठक करिब दुई घण्टा ढिलाइपछि ३ बजे सुरु भएलगत्तै विपक्षी दलहरूले उठेर विरोध जनाएका हुन्।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य सार्वजनिक गर्न माग गर्दै आएका छन्। उनीहरूले बिना तथ्य अभिव्यक्ति दिएको भए प्रधानमन्त्रीले माफी माग्नुपर्ने अडान पनि दोहोर्याएका छन्।

तर सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने विपक्षीको मागमा सहमति जनाउन नसक्ने संकेत दिएको छ। यसै विषयलाई लिएर संसदभित्रको गतिरोध कायम रहेको छ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने लगायतका कार्यसूची रहेको भए पनि अवरोधका कारण बैठकको कार्यसम्पादन प्रभावित भएको छ।

प्रतिक्रिया दिनुहोस्