प्रधानमन्त्री बालेन शाहको सीमा अभिव्यक्तिमा सरकारका प्रवक्ताद्वारा बचाउ

जेष्ठ, १९ काठमाडौं ।  सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिको बचाउ गरेका छन्।

प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभा बैठकमा नेपाल–भारत सीमा विवादबारे सोधिएको प्रश्नमा ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भनाइ दिएका थिए। यस अभिव्यक्तिको विपक्षी दलहरूले विरोध गर्दै संसदमा अवरोध गर्दै आएका छन् र प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग गर्दै आएका छन्।

तर पोखरेलले भने, “प्रधानमन्त्रीले संसदमा नेपालले पनि भारतको जग्गा मिचेको भन्ने कुरा सुनेर आफू अचम्मित भएको धारणा राख्नुभएको हो। उहाँले यस्तो अभिव्यक्ति प्रत्यक्ष रूपमा भन्नुभएको छैन।”

सरकारका प्रवक्ताका अनुसार परराष्ट्र मन्त्रालयले आवश्यक ब्रिफिङ प्रदान गरेको छ र दुई देशबीच सीमा विवाद समाधानका लागि पहिले देखि नै स्थापित संयन्त्रहरू सक्रिय छन्। कतिपय स्थानमा भारतले उपभोग गरेको भू–भाग नेपालमा पर्न सक्ने र नेपालले उपभोग गरेको भू–भाग भारतमा पर्न सक्ने विषय संयन्त्रबाट आएको हो।

पोखरेलले थपे, “प्रधानमन्त्री सदनप्रति उत्तरदायी हुनुहुन्छ। आवश्यक परे फेरि संसदमा आएर स्पष्ट पार्न सक्नुहुन्छ। सीमा विवाद समाधानको विषय टेबल टकबाट अगाडि बढाउनुपर्ने हो र यो कार्य परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक रूपमा अघि बढिरहेको छ।”

सरकारले यस विषयमा कूटनीतिक संवाद जारी राख्ने र दुई देशबीच संयन्त्रमार्फत विवाद समाधान हुने स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्