अति राष्ट्रवादी भाषा मन पराउँदैनौं : रवि लामिछाने
जेष्ठ, १९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले परम्परागत राजनीतिज्ञहरूले प्रयोग गर्ने अति राष्ट्रवादी (अल्ट्रा–नेशनलिस्ट) भाषालाई आफूहरूले मन नपराउने बताएका छन्।
भारत भ्रमणमा रहेका लामिछानेले भारतीय अखबार हिन्दुस्तान टाइम्स मा लेख प्रकाशित गर्दै नेपाल–भारत सम्बन्ध र कूटनीतिक दृष्टिकोणबारे रास्वपाको धारणा सार्वजनिक गरेका हुन्।
उनले लेखमा “प्रमाणमा आधारित संवाद र चुनावी स्वार्थबाट मुक्त व्यवहारिक दृष्टिकोण” नै आफ्नो पार्टीको वैकल्पिक नीति भएको उल्लेख गरेका छन्। लामिछानेका अनुसार नेपाल–भारत सम्बन्धलाई भू–राजनीतिक तनावबाट हटाएर विकास केन्द्रित कूटनीतिमा अघि बढाउनुपर्ने आवश्यकता छ।
उनले रास्वपा विदेश नीतिमा नयाँ दृष्टिकोण राख्न सक्षम रहेको दाबी गर्दै आफूहरू “अतीतको बोझ नबोकेका” र “पुराना कटुता वा गोप्य समझदारीमा नअल्झिएका” बताएका छन्।
लामिछानेले नेपाल–भारत सहकार्यका सम्भावित क्षेत्रहरू पनि प्रस्तुत गरेका छन्। उनका अनुसार रक्सौल–काठमाडौं रेलमार्ग, नेपाल–भारत सिधा हवाई उडान विस्तार, काठमाडौं–बेंगलुरु डिजिटल करिडोर, र सीमावर्ती क्षेत्रमा रासायनिक मल कारखाना स्थापना जस्ता परियोजनाले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सक्छ।
त्यस्तै, उनले आईटी, फिनटेक, ऊर्जा व्यापार, डिजिटल भुक्तानी प्रणाली र पर्यटन सहकार्यलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
नेपालको जलविद्युत् भारतका औद्योगिक क्षेत्रका लागि उपयोगी हुन सक्ने उल्लेख गर्दै उनले “कडा सीमालाई सहज बनाउँदै एकीकृत आर्थिक प्रणालीतर्फ अघि बढ्नुपर्ने” धारणा राखेका छन्।
लामिछानेले विश्वास नै नेपाल–भारत सम्बन्धको सबैभन्दा महत्वपूर्ण आधार भएको भन्दै दीर्घकालीन सहकार्यका लागि पारदर्शी र व्यवहारिक दृष्टिकोण आवश्यक रहेको बताएका छन्।




प्रतिक्रिया दिनुहोस्