सुधन गुरूङको सम्पत्ति छानबिन समिति पाएको थप पाँच दिनको समय
जेष्ठ, १९ काठमाडौं । पूर्वगृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुधन गुरूङको सेयर लगानी र अन्य सम्पत्तिको स्रोतबारे उठेका प्रश्नको छानबिन गर्न बनेको समितिलाई थप पाँच दिनको समय उपलब्ध गराइएको छ।
उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा रहेको समितिलाई मंगलबारदेखि लागु हुने गरी यो समय दिइएको हो। समितिका सदस्य महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने छन्। नेउपानेका अनुसार सुधन गुरूङको बयान संकलन र तथ्य अध्ययनको काम सकिएको छ र अब प्रतिवेदन तयार गर्ने कार्य भइरहेको छ।
यस अघि वैशाख २३ गते मन्त्रिपरिषद् बैठकले समितिको गठन गर्ने निर्णय गरेको थियो। समितिलाई प्रारम्भमा १५ दिनको समय दिइएको थियो, तर समयावधि सोमबार सकिएको थियो।
सुधन गुरूङले वैशाख ९ गते आफूमाथि प्रश्न उठेको भन्दै पदबाट राजीनामा दिएका थिए। उनलाई सेयर लगानीको स्रोत र सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा हिरासतमा रहेका दिपक भट्टसँग व्यावसायिक साझेदारी देखिएको विवादमा समावेश गरिएको थियो। उनले आफ्नो पदमा रहँदा स्वार्थको द्वन्द्व उत्पन्न नहोस् भनेर राजीनामा दिएको बताएका थिए।




प्रतिक्रिया दिनुहोस्