निजी क्षेत्रको आत्मविश्वास कमजोर भए एफडीआई आकर्षित हुँदैन : उदय शमशेर राणा

जेष्ठ, १९ काठमाडौं । पूर्वअर्थराज्यमन्त्री एवं नेपाली कांग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले निजी क्षेत्रको आत्मविश्वास नबढेसम्म प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्न कठिन हुने बताएका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रलाई “जघन्य अपराधीसरह” व्यवहार गर्ने प्रवृत्तिले लगानीकर्तामा नकारात्मक सन्देश जाने बताए। उनले लगानीमैत्री वातावरण बनाउन सरकारले निजी क्षेत्रप्रति आफ्नो व्यवहार सुधार्नुपर्नेमा जोड दिए।

राणाले हालै एक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)माथि भएको कारबाहीप्रति संकेत गर्दै, गलत भएको अवस्थामा पहिले सोधपुछ वा राहदानी रोक्का जस्ता विकल्प अपनाउन सकिने भए पनि राज्यले कडा र असमान व्यवहार गरेको टिप्पणी गरे।

उनका अनुसार बजेटमा राम्रा नीति घोषणा भए पनि व्यवहारमा उल्टो अवस्था देखिँदा निजी क्षेत्रको विश्वास कमजोर हुन्छ। उनले सरकारको नीति स्थायित्वसम्बन्धी प्रतिबद्धतामाथि पनि प्रश्न उठाए।

राणाले केही समयअघि व्यावसायिक सवारीसाधन दर्ता रोकिएको विषयमा स्पष्ट जानकारी नदिइएको उल्लेख गर्दै नीतिगत अस्पष्टताले लगानी वातावरणमा असर पर्ने बताए।

उनले विदेशी लगानी आकर्षित गर्ने विषय केवल बजेट र भाषणमा सीमित हुन नहुने बताए। नेपालको औद्योगिक क्षेत्रको योगदान जीडीपीमा करिब ५.४ प्रतिशत मात्र रहेको उल्लेख गर्दै बजेट सेवा क्षेत्रमा बढी केन्द्रित भएको र औद्योगिक क्षेत्र अपेक्षाकृत उपेक्षित भएको दाबी गरे।

राणाका अनुसार नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने तथा नेपाल विद्युत प्राधिकरण पुनर्संरचना गर्ने जस्ता विषय नयाँ नभई पुरानै एजेण्डा हुन्, जसले नीतिगत निरन्तरतामा प्रश्न उठाउँछ।

प्रतिक्रिया दिनुहोस्