प्रधानमन्त्री को अभिव्यक्तिप्रति आरेन राईको आपत्ति, माफी माग्नुपर्ने माग
जेष्ठ १८,काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै संसदमा माफी माग्नुपर्ने बताएका छन्।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राईले प्रधानमन्त्रीको अभिव्यक्तिले गलत नजिर स्थापित गरेको दाबी गरे। प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई आधार बनाएर भविष्यमा भूमि फिर्ता माग्ने अवस्था सिर्जना भए कुन भूमि फिर्ता दिने भन्ने प्रश्न उनले उठाए।
“मलाई आफैंलाई लज्जास्पद महसुस भइरहेको छ। प्रधानमन्त्रीज्यूले रेकर्डबाट हटाउने कुरा मात्रै होइन, इतिहासमा यस्तो नजिर स्थापित भयो। भोलि कसैले प्रधानमन्त्रीले भनेको आधार बनाएर ‘हाम्रो मिचिएको भूमि फिर्ता देऊ’ भन्यो भने कुन भूमि फिर्ता दिने?” राईले प्रश्न गरे।
उनले प्रधानमन्त्रीले राष्ट्रकै हितविपरीत अभिव्यक्ति दिएको आरोप लगाउँदै संसदको रोस्ट्रममा आएर आफ्नो भनाइ फिर्ता लिन र माफी माग्नुपर्ने बताए।
“हामी कसैको भूमि मिच्दैनौं र कसैको भूमि मिच्न पनि दिँदैनौं भन्ने स्पष्ट प्रतिबद्धतासहित प्रधानमन्त्रीले माफी माग्नुपर्छ,” उनले भने।
राईले श्रम संस्कृति पार्टीले प्रधानमन्त्री संसदमा उपस्थित भई स्पष्टीकरण नदिएसम्म संसद् अवरोध जारी राख्ने चेतावनी पनि दिए।
यसैबीच उनले सभामुख डोलप्रसाद अर्याललाई प्रधानमन्त्रीलाई रूलिङमार्फत संसदमा उपस्थित गराउन आग्रह गरेका छन्।













प्रतिक्रिया दिनुहोस्