प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिमा नेकपा प्रमुख सचेतक युवराज दुलालको कडा आपत्ति

जेष्ठ १८,काठमाडौं । प्रतिनिधि सभाको सोमबारको बैठकमा नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल ले प्रधानमन्त्री बालेन्द्र शाह ले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। उनले प्रधानमन्त्रीको भनाइ राष्ट्रहितविपरीत, तथ्यहीन र आत्मसमर्पणवादी भएको आरोप लगाए।

बैठकमा विशेष समय लिएर बोल्दै दुलालले प्रधानमन्त्री संसद्प्रति जवाफदेही बन्नु सकारात्मक भए पनि सीमा विवादबारे व्यक्त धारणा “अक्षम्य” रहेको टिप्पणी गरे। उनका अनुसार प्रधानमन्त्रीको अभिव्यक्तिमा अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा आवश्यक राष्ट्रिय अडान, कूटनीतिक परिपक्वता र दृढ इच्छाशक्ति देखिएको छैन।

दुलालले सीमावर्ती क्षेत्रमा नेपाली नागरिकले खेतीपाती गर्ने विषयलाई भारतीय सेनाले नेपाली भूमिमा परेड खेलेर भूमि कब्जा गरेको अवस्थासँग तुलना गर्नु “गम्भीर त्रुटि” भएको दाबी गरे। उनले लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित करिब ६० हजार हेक्टर भूमि भारतद्वारा अतिक्रमण गरिएको नेपालको आधिकारिक दाबी कायम रहेको उल्लेख गर्दै ऐतिहासिक तथ्यलाई सामान्य सीमापार गतिविधिसँग तुलना गर्न नमिल्ने बताए।

नेपाल कम्युनिष्ट पार्टी का प्रमुख सचेतक दुलालले परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउमा दिएको स्पष्टीकरणलाई पनि “झुट र तथ्य तोडमोड” को प्रयासको रूपमा व्याख्या गरे।

उनले सरकार प्रमुखको अभिव्यक्ति कूटनीतिक दृष्टिले अपरिपक्व भएको आरोप लगाउँदै आगामी भारत भ्रमणको पूर्वसन्ध्यामा आएको उक्त टिप्पणीले गम्भीर शङ्का उत्पन्न गरेको बताए। साथै, उनले प्रधानमन्त्रीले तत्कालीन ब्रिटिस सरकारको प्रसंग उल्लेख गर्नु पनि आत्मसमर्पणवादी सोचको उदाहरण भएको दाबी गरे।

दुलालले प्रधानमन्त्रीको भनाइ राष्ट्रघाततर्फ उन्मुख भएको टिप्पणी गर्दै उक्त अभिव्यक्ति फिर्ता नलिएसम्म संसद् अघि बढ्न नदिने चेतावनीसमेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्