एमालेले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन माग, माफी माग्नुपर्ने अडान
जेष्ठ १८,काठमाडौं । नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन शाहले शुक्रबार संसदमा व्यक्त गरेको भनिएको अभिव्यक्ति प्रतिनिधि सभा (संसद) को रेकर्डबाट हटाउन माग गरेको छ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा एमाले प्रमुख सचेतक ऐन महरले सीमा विवादसम्बन्धी प्रधानमन्त्रीको भनाइ आपत्तिजनक रहेको दाबी गर्दै उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखे।
उनले प्रधानमन्त्रीलाई संसदमा आएर माफी माग्नुपर्ने पनि बताए। महरका अनुसार लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको विषयमा “स्पष्ट तथ्य र अध्ययन” आवश्यक रहेको भन्दै प्रधानमन्त्रीलाई त्यसबारे पुनर्विचार गर्न आग्रह गरे।
“यदि अध्ययन छैन भने पढ्नुपर्छ, हामीसँग सिक्न पनि सकिन्छ,” महरले भने।
उनले प्रधानमन्त्रीको अभिव्यक्तिका कारण नेपाली नागरिकको आत्मसम्मानमा असर परेको र अन्तर्राष्ट्रिय स्तरमा गलत सन्देश गएको दाबी गरे।
महरले प्रधानमन्त्रीको अभिव्यक्तिले कुनै रणनीतिक उद्देश्य पूरा गर्न खोजिएको हो कि भन्ने प्रश्नसमेत उठाए। उनले आगामी कूटनीतिक गतिविधि र राजनीतिक सन्दर्भसँग जोडेर टिप्पणी गरेको आरोप पनि लगाए।
त्यसैगरी उनले प्रधानमन्त्रीको सदनप्रतिको व्यवहारबारे पनि प्रश्न उठाए। महरले विभिन्न सार्वजनिक कार्यक्रममा पहिरन र उपस्थितिको उदाहरण दिँदै संसदमा आउने शैलीलाई लिएर टिप्पणी गरेका थिए।
यो विषयलाई लिएर संसदमा सत्तापक्ष र विपक्षबीच थप राजनीतिक बहस चर्किने संकेत देखिएको छ।




प्रतिक्रिया दिनुहोस्