प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमाथि छानबिन समिति गठनको कांग्रेसको माग
जेष्ठ १८,काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिमाथि छानबिन समिति गठन गर्न माग गरेको छ।
सोमबार राष्ट्रिय सभाको बैठक सुरु भएपछि आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद रन्जित कर्णले प्रधानमन्त्रीको अभिव्यक्तिको आधार र तथ्यबारे छानबिन आवश्यक रहेको बताए।
उनले प्रधानमन्त्रीले प्रतिनिधिसभामा उभिएर नेपालले भारतको केही जग्गा मिचेको स्वीकार गरेको दाबी गर्दै त्यसको स्पष्ट विवरण सार्वजनिक गर्न २४ घण्टे अल्टिमेटमसमेत दिएका छन्।
‘प्रधानमन्त्रीज्यूले भारतको कुन–कुन ठाउँमा नेपालले जग्गा मिचेको हो भन्ने तथ्य सार्वजनिक गर्नुपर्छ, नसके सार्वजनिक रूपमा माफी माग्नुपर्छ,’ कर्णले भने।
कर्णले प्रधानमन्त्रीको अभिव्यक्तिमाथि छानबिन समिति गठन गर्न राष्ट्रिय सभासमक्ष माग राख्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने आवश्यकता पनि औंल्याए।
आइतबार प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमा समस्या कूटनीतिक संवादबाट समाधान गर्नुपर्ने बताएका थिए। उनले नेपाल र भारत दुवै पक्षले केही स्थानमा एक–अर्काको भूमि अतिक्रमण भएको विषय अध्ययन गरेर समाधान खोज्नुपर्ने धारणा राखेका थिए।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया देखिएको छ।




प्रतिक्रिया दिनुहोस्