मानव अधिकार आयोगको प्रतिवेदनविरुद्ध रास्वपा सांसद बोहराको सर्वोच्चमा रिट

जेष्ठ १८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहराले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबाट आफ्नो नाम हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

सोमबार सर्वोच्च अदालतमा पुगेका बोहराले आयोगविरुद्ध रिट दायर गरेका हुन्। उक्त रिटको सुनुवाइ मंगलबारका लागि तोकिएको सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

बोहराले आफूलाई आयोगले सुनुवाइको अवसर नदिई जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान तथा कारबाही सिफारिस प्रतिवेदनमा नाम उल्लेख गरेको भन्दै आपत्ति जनाएका छन्।

‘मलाई सुनुवाइको मौकासमेत नदिइकन प्रतिवेदनमा नाम लेखियो। प्राकृतिक न्यायको सिद्धान्त विपरीत नाम राखिएको छ। भदौ २४ गते म अस्पतालमा थिएँ,’ उनले दाबी गरेका छन्।

आयोगले जेठ १३ गते सार्वजनिक गरेको प्रतिवेदनमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा संलग्नता, अभिव्यक्ति तथा त्यसको प्रभावबारे थप सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरिएको उल्लेख छ। उक्त प्रतिवेदनमा केही सांसदहरूको नाम समेत समावेश गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्