प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईको प्रतिक्रिया

जेष्ठ १८,काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले प्रधानमन्त्री बालेन शाहको संसदमा दिएको जवाफ कमजोर भएको टिप्पणी गरेका छन्।

सोमबार विपक्षी दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राईले प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति दिने थाहा पाएको भए आफूले प्रश्न नै नगर्ने बताएका हुन्।

उनले भने, “हाम्रो प्रधानमन्त्रीज्यूबाट प्रश्नको कमजोर जबाफ आउँथ्यो भने म प्रश्न नै सोध्ने थिइनँ। ट्याक–ट्याक–ट्याक गरी आउनुभयो। म त उहाँ राम्रै बोल्नुहुन्छ होला भनेको, मैले सोधिहालेँ। तर त्यसको जबाफ यस्तो आयो।”

राईले प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिबारे सदनमा स्पष्ट पार्नुपर्ने आवश्यकता रहेको पनि बताए।

“भारत वा छिमेकी मुलुकको संसद कतै पनि नउठेको विषयवस्तु बढी जान्ने भएर उठाइदिनु भयो र छिमेकी मुलुकसँग सम्बन्धित संवेदनशील विषयमा सहजीकरण गरिदिनुभयो,” उनले भने, “उहाँले भावनामा बहकिएर वा जिब्रो चिप्लिएर भन्नुभयो कि भन्ने लाग्छ। यसबारे सदनमा स्पष्ट पार्नुपर्छ, किनभने यो सामान्य विषय होइन।”

आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाह अकस्मात प्रश्नोत्तर कार्यक्रममा सहभागी भएका थिए। उनले आफू प्रश्नोत्तरका लागि तयार रहेको बताएपछि सभामुख डिपी अर्यालले समय दिएका थिए।

त्यस क्रममा राईले लिपुलेक र लिम्पियाधुरा सीमा विवादबारे प्रश्न गरेका थिए।

जवाफमा प्रधानमन्त्री शाहले भनेका थिए, “यो विषय कूटनीतिक रूपमा टेबल टकको विषय हो। तपाईंहरूलाई अचम्म लाग्ला, मैले पनि प्रधानमन्त्री भएपछि थाहा पाएँ कि भारतले मात्र होइन, नेपालले पनि भारतका केही स्थानमा भूमि मिचेको रहेछ।”

प्रतिक्रिया दिनुहोस्