पूर्वगृहमन्त्री सुधन गुरुङबारे छानबिन प्रतिवेदन आज सरकारलाई बुझाइँदै

जेष्ठ १८, काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न गठित समितिले आज सरकारलाई राय–सुझावसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ।

समितिले गुरुङसँग बयान लिने, सम्पत्ति विवरण अध्ययन गर्ने तथा अन्य आवश्यक तथ्य–प्रमाण संकलन गर्ने कार्य सम्पन्न गरेपछि प्रतिवेदन बुझाउन लागिएको हो।

समितिका सदस्य अच्युतमणि नेउपानेका अनुसार समितिलाई दिइएको कार्यादेशअनुसारको छानबिन प्रक्रिया पूरा भइसकेको छ।

‘हामीले पूर्वगृहमन्त्री गुरुङसँग बयान लिने, सम्पत्ति विवरणलगायतका विषयमा अध्ययन तथा छानबिन सम्पन्न गरिसकेका छौँ। कार्यादेशअनुसारको काम सकिएकाले आजै प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेका छौँ,’ नेउपानेले बताए।

उनका अनुसार प्रतिवेदनमा प्राप्त प्रमाण र तथ्यका आधारमा स्पष्ट निष्कर्षसहित राय प्रस्तुत गरिएको छ। दोषी वा निर्दोष भन्ने विषय प्रमाणका आधारमा उल्लेख गरिएको उनले जानकारी दिए।

मन्त्रिपरिषद्को वैशाख २८ गते बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका छन्।

समितिलाई प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वगृहमन्त्री गुरुङसँग सम्बन्धित सार्वजनिक रूपमा उठेका विषयहरूको सत्यतथ्य अध्ययन तथा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको थियो।

व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए। त्यसपछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी २६ दिनमात्र गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका भट्टसँग सम्बन्धित कम्पनीहरूमा गुरुङले लगानी गरेको विषय सार्वजनिक भएपछि उनीमाथि प्रश्न उठेको थियो। विशेषगरी लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर खरिदका लागि प्रयोग गरिएको रकमको स्रोतबारे चासो व्यक्त गरिएको थियो।

रकमको स्रोतबारे उठेका प्रश्नको जवाफ दिँदै गुरुङले आफूले सापटी लिएर करिब ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको दाबी गर्दै आएका छन्। अब समितिको प्रतिवेदन सार्वजनिक भएपछि यस विषयमा सरकारको आगामी निर्णय र कदमप्रति चासो बढेको छ।

प्रतिक्रिया दिनुहोस्