मापसेमा शून्य सहनशीलता अपनाउनुपर्छ : सचिव सिग्देल

जेठ १९, काठमाडौं । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेहरूविरुद्ध राज्य कडा रूपमा प्रस्तुत हुनुपर्ने बताएका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार रामशाहपथमा आयोजना गरेको ‘इन्टिग्रेटेड ट्राफिक मेनेजमेन्ट सिस्टम’ कार्यक्रमको उद्घाटन गर्दै सचिव सिग्देलले मापसेमा शून्य सहनशीलताको नीति अवलम्बन गरी कडा कार्यान्वयन गर्नुपर्ने बताए।

उनले मापसे गर्ने सवारी चालकविरुद्धको जरिवाना पनि थप कडा बनाउनुपर्ने धारणा राखे। हाल ट्राफिक प्रहरीले मापसे गरेर सवारी चलाउने चालकलाई न्यूनतम ५०० देखि १५०० रुपैयाँसम्म जरिवाना गर्ने तथा सचेतना कक्षा लिनुपर्ने व्यवस्था गरेको छ।

सचिव सिग्देलले सडक सुरक्षा नीति निर्माणको काम भइरहेको जानकारी दिँदै त्यसकै आधारमा आवश्यक कानुनी व्यवस्था गरिने बताए। साथै, सडक सुरक्षालाई प्रभावकारी बनाउन प्रहरीका लागि छुट्टै बजेट व्यवस्था गरिएको पनि उनले उल्लेख गरे।

कार्यक्रममा उपत्यका प्रहरी कार्यालयका एआईजी ईश्वर कार्कीले वर्तमान सडक सुरक्षा प्रणाली समयानुकूल नभएको बताए। ट्राफिक व्यवस्थापनलाई आधुनिक प्रविधिमा आधारित बनाउनुपर्ने उल्लेख गर्दै उनले अझै पनि हातको संकेतका भरमा ट्राफिक सञ्चालन गर्ने अभ्यासबाट बाहिरिनुपर्ने धारणा राखे।

एआईजी कार्कीले लापरबाहीपूर्वक सवारी साधन चलाउने चालकविरुद्धको कारबाही तथा जरिवानाको दायरा समेत कडा बनाउनुपर्ने बताए।

यस्तै, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले मापसे नियन्त्रण, ‘नो हर्न’ अभियान तथा ठमेल र पशुपतिनाथ क्षेत्रलाई ‘भेहिकल फ्री जोन’ बनाउने प्रयास सकारात्मक सुरुवात भएको बताए।

उनले माइक्रोबस र टेम्पोमा उभिएर यात्रा गर्ने प्रचलन रोक्नुपर्नेमा जोड दिँदै त्यसका लागि ट्राफिक प्रहरी अझ कठोर हुनुपर्ने बताए।

प्रजिअ पौडेलले मापसे तथा लापरबाहीपूर्ण ढंगले सवारी चलाउने कार्यलाई गम्भीर अपराधका रूपमा लिएर हतियार प्रयोग गरेसरहको कसुरमा कारबाही गर्नुपर्ने धारणा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्