प्रधानमन्त्रीको ‘भारतको जग्गा पनि नेपालले मिचेको छ’ अभिव्यक्तिले परराष्ट्र मन्त्रालय अन्योलमा

जेष्ठ १७, काठमान्डौ । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दिएको ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भन्ने अभिव्यक्तिपछि उत्पन्न कूटनीतिक प्रश्नबारे परराष्ट्र मन्त्रालय अन्योलमा परेको छ। उक्त अभिव्यक्तिले संसदभित्र मात्र होइन, कूटनीतिक वृत्तमा समेत चर्चा र चासो बढाएको छ।

प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभा बैठकमा सांसद आरेन राईले लिपुलेक–लिम्पियाधुरा सीमा विवादबारे सोधेको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि विभिन्न स्थानमा भारतको जग्गा मिचेको जानकारी आफूले प्रधानमन्त्री बनेपछि मात्र पाएको बताएका थिए।

“भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ,” प्रधानमन्त्री शाहले संसदमा भनेका थिए। उनले दुवै देशका बीच रहेका सीमा सम्बन्धी विषयहरू मित्रवत् वार्तामार्फत समाधान गर्नुपर्ने धारणा पनि राखेका थिए।

प्रधानमन्त्रीको उक्त भनाइ सार्वजनिक भएपछि प्रतिपक्षी दलहरूले त्यसलाई संसदको अभिलेखबाट हटाउन माग गरेका छन्। साथै, नेपालले भारतको कुन–कुन स्थानको भूमि मिचेको हो भन्ने विषयमा स्पष्टता दिनुपर्ने दबाब समेत बढेको छ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार प्रधानमन्त्रीको अभिव्यक्तिपछि विभिन्न तहबाट यसबारे प्रश्न आउन थालेका छन्। तर हालसम्म मन्त्रालयसँग त्यसको स्पष्ट जवाफ नभएको उनीहरूको भनाइ छ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीले प्रधानमन्त्रीले सीमा क्षेत्रमा देखिने ‘क्रस होल्डिङ’ अर्थात् सीमापार दुवैतर्फ नागरिकको जग्गा स्वामित्व रहने अवस्थालाई संकेत गरेर बोलेको हुन सक्ने अनुमान गरेका छन्।

“प्रधानमन्त्रीले सायद सीमा क्षेत्रमा हुने जग्गाको क्रस होल्डिङबारे बोल्नुभएको हुन सक्छ। यस विषयमा मन्त्रालयभित्र छलफल भइरहेको छ,” ती अधिकारीले बताए।

यसैबीच, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणमा जान लागेको पूर्वसन्ध्यामा प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनुलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ। लामिछाने सोमबार तीन सदस्यीय टोलीसहित भारत प्रस्थान गर्दै छन्, जहाँ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्तिबारे थप स्पष्टता दिने गरी औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्