प्रतिनिधिसभा बैठकमा विवाद, सांसद आशिका तामाङलाई बैठक हलबाट बाहिर लगियो
जेष्ठ १७, काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले आपत्ति जनाइरहेका बेला केही समयका लागि तनावपूर्ण अवस्था सिर्जना भएको छ।
प्रधानमन्त्री बालेन शाह आकस्मिक समय लिएर सांसदहरूको प्रश्नको जवाफ दिन बैठकमा उपस्थित भएपछि विपक्षी सांसदहरूले प्रक्रियामाथि प्रश्न उठाएका थिए। उनीहरूले आफ्नो आपत्ति राख्न समय मागे पनि सभामुख डीपी अर्यालले बोल्ने अवसर नदिएको भन्दै विरोध जनाएका थिए।
विरोधका क्रममा बैठक कक्षमा चर्काचर्की भएको थियो। सभामुख अर्यालले संसदीय मर्यादा विपरीत गतिविधि गरेको आरोप लगाउँदै सांसदहरू ऐन महर, ध्रुबराज राई र आरेन राईलाई चेतावनी दिएका थिए।
यसैबीच सत्तारुढ पक्षकी सांसद आशिका तामाङले विपक्षीहरूको विरोधको प्रतिवाद गर्न आवाज उठाएकी थिइन्। उनले आक्रामक शैलीमा प्रतिक्रिया दिन खोजेपछि स्थिति थप तनावपूर्ण बनेको थियो।
स्थिति नियन्त्रणमा राख्न रास्वपाकै केही सांसदहरूले तामाङलाई बैठक हलबाट बाहिर लगेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
घटनापछि केही समय बैठक प्रभावित भए पनि सभामुखले सांसदहरूलाई संयमित हुन आग्रह गरेका थिए। घटनाबारे थप विवरण आउन बाँकी छ।




प्रतिक्रिया दिनुहोस्