राष्ट्रवादी शक्ति’ निर्माणका लागि नयाँ मार्ग तय गर्ने घोषणा
जेष्ठ १७ ,काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक ‘विश्वसनीय राष्ट्रवादी शक्ति’ निर्माणका लागि नयाँ मार्ग तय गर्ने घोषणा गर्नुभएको छ। आज आइतबार ” आह्वान” पत्र जारी गर्दै उहाँले नयाँ अभियानको सुरुवात गर्नुभएको हो।
आफ्ना शुभेच्छुक, सहयोद्धा र सहयात्रीहरूको राय सल्लाह बमोजिम आफूले आगामी बाटो तय गर्ने निश्चय गरेको उहाँले उल्लेख गर्नुभएको छ। देश तथा विदेशमा रहेका नेपालीहरूको सुझाव र जनभावना अनुरूप अघि बढ्नका लागि देशलाई माया गर्ने राष्ट्रवादी र विशेष गरी नवयुवा पुस्तालाई यस नयाँ अभियानमा सहभागी हुन डा. राणाले आह्वान गर्नुभएको छ।
विगतको समीक्षा समेत गर्दै डा. राणाले राप्रपालाई चार वर्षसम्म जनभावना अनुकूल अघि बढाउने प्रयास गरिएको भएपनि पार्टी विरोधाभास र सैद्धान्तिक द्विविधाको गलत बाटोमा हिँडेको टिप्पणी गर्नुभएको छ। गलत बाटोका कारण नै राप्रपा जनताबाट दण्डित हुनुपरेको उहाँको भनाइ छ।
पत्रमा उहाँले राप्रपामै आबद्ध रहन चाहने साथीहरूप्रति कुनै वैरभाव नरहेको र उनीहरूलाई शुभकामना दिने उल्लेख गर्नुभएको छ। तर, स्वच्छ मन र आत्मीय सम्बन्ध निर्माण गरेर आफ्ना मान्यताहरूलाई सही लक्ष्य दिन चाहने हो भने आफुले आगामी दिनमा निर्माण गर्न लागेको बाटोमै एकजुट भएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभएको छ। उहाँले सम्पूर्ण राष्ट्रवादी हरूलाई एक ठाउँमा आउन अपिल गर्दै पत्रको अन्त्य गर्नुभएको छ।




प्रतिक्रिया दिनुहोस्