बजेटले विपन्न वर्ग नसमेटेको गगन थापाको आरोप, ‘गरिब हटाउने होइन, गरिब मास्ने सोच देखियो’

जेष्ठ १७,काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले संरचनागत तथा नीतिगत सुधारका केही प्रयास गरे पनि न्यून आय भएका तथा विपन्न वर्गका समस्या सम्बोधन गर्न असफल भएको टिप्पणी गरेका छन्।

नेपाल थारु संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले काँग्रेसले लामो समयदेखि उठाउँदै आएका संरचनागत सुधारका विषय बजेटमा समेटिनु सकारात्मक भए पनि सरकारको समग्र दृष्टिकोणले गरिबी निवारणभन्दा ‘गरिब मास्ने’ प्रवृत्ति देखिएको आरोप लगाए।

उनले आर्थिक मन्दी र बढ्दो महँगीका कारण न्यून आय भएका नागरिकको जीवन झनै कष्टकर बनेको उल्लेख गर्दै सरकार उनीहरूको समस्याप्रति उदासीन बनेको दाबी गरे।

थापाले प्रतिपक्षको भूमिका सस्तो लोकप्रियतामा नबहकिने र राज्यका नीति तथा स्रोत–साधन सबै वर्गमा समान रूपमा पुग्ने सुनिश्चितता गराउने रहेको स्पष्ट पारे।

‘गरिब मास्ने होइन, गरिबी हटाउने नीति चाहिन्छ’

बजेट र सरकारको कार्यशैलीप्रति आलोचना गर्दै सभापति थापाले गरिबी र गरिबलाई एउटै रूपमा बुझ्ने गलत प्रवृत्ति रहेको बताए।

‘गरिबी हटाउने होइन, गरिब मास्ने सोचबाट सरकार ग्रसित देखिन्छ,’ उनले भने, ‘भूमिहीन र सुकुम्बासीप्रति राज्यको व्यवहारले गरिबलाई हटाउने प्रवृत्ति देखाएको छ।’

उनले महँगी, आर्थिक मन्दी, शिक्षा र स्वास्थ्य सेवामा पहुँचको अभावका कारण न्यून आय भएका वर्ग सबैभन्दा बढी प्रभावित भएको उल्लेख गरे।

थापाले सामाजिक सञ्जालमा बजेटको प्रशंसा भए पनि प्रतिपक्षको जिम्मेवारी आलोचनामा मात्र सीमित नहुने स्पष्ट पारे।

‘प्रतिपक्षको भूमिका नैतिक साहसको परीक्षा हो’

सभापति थापाले प्रतिपक्षको भूमिका कठिन हुने भन्दै सरकारका गलत नीति, कानुन र विभेदकारी निर्णयविरुद्ध उभिनुपर्ने जिम्मेवारी काँग्रेसको रहेको बताए।

‘सरकारले संविधान र कानुन विपरीत काम गर्दा काँग्रेस उभिन्छ,’ उनले भने, ‘राज्यको स्रोत–साधन सबै वर्गमा पुग्ने सुनिश्चितता गराउनु हाम्रो जिम्मेवारी हो।’

उनले भ्रातृ संगठनहरूलाई पार्टीभित्रको आन्तरिक विवादमा अल्झिनुको सट्टा जनताको बीचमा जान निर्देशन दिए।

भ्रातृ संगठनलाई जनतामुखी बन्न आग्रह

थापाले नेपाल थारु संघ, विद्यार्थी संगठन, महिला संघ र दलित संघलगायत सबै भ्रातृ संगठनलाई आ–आफ्नो समुदायको हकहितका लागि गाउँ–गाउँ पुगेर काम गर्नुपर्नेमा जोड दिए।

उनले संगठनहरूलाई नेतृत्व विवाद र आन्तरिक गन्थन छोडेर नागरिकको भरोसा जित्ने अभियानमा केन्द्रित हुन आग्रह गरे।

‘अब पार्टीभित्र होइन, जनताको बीचमा जानुपर्छ,’ उनले भने, ‘भ्रातृ संगठनहरूको काम समुदायको हकहित सुनिश्चित गर्नु हो, आन्तरिक विवाद होइन।’

प्रतिक्रिया दिनुहोस्