प्रतिनिधिसभा बैठक आज बस्दै, नियमावली पारित गर्ने तयारी
जेष्ठ १७, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा प्रतिनिधिसभा नियमावली पारित गर्ने मुख्य कार्यसूची रहेको छ।
संसद् सचिवालयका अनुसार बैठकको सुरुवातमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले नियमावलीको मस्यौदामाथि दफावार छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि सांसदहरूले नियमावलीमाथि दर्ता गरिएका संशोधन प्रस्ताव तथा आफ्ना धारणा राख्नेछन्। छलफलपछि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ।
प्रतिनिधिसभा नियमावलीमा विभिन्न सांसदहरूले ३५ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्। विपक्षी दलका सांसदहरूले संसदीय समितिको बैठक सञ्चालनका लागि सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य गर्नुपर्ने, सांसद भएकै आधारमा अन्य कानुनको दायराभन्दा बाहिर रहने व्यवस्था गर्न नहुने तथा संविधान संशोधनसम्बन्धी कार्यविधि नियमावलीमै स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने लगायतका विषयमा संशोधन प्रस्ताव राखेका छन्।
यसैगरी, आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि पेश गर्ने कार्यसूची रहेको छ।
प्रतिनिधिसभा नियमावली पारित भएसँगै संसद्को कार्यसम्पादन, बैठक सञ्चालन र संसदीय प्रक्रियालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।




प्रतिक्रिया दिनुहोस्