गणतन्त्रलाई सुदृढ बनाउन सुशासन र समन्यायिक वितरण आवश्यक : प्रदेश प्रमुख देवकोटा

जेठ १५ ,काठमाडौं । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शासन प्रणालीमा आमनागरिकको सहज पहुँच तथा राज्यबाट प्राप्त हुने प्रतिफलको समन्यायिक वितरणले मात्रै गणतन्त्रलाई सुदृढ बनाउन सकिने बताएका छन्।

गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश गणतन्त्र मूलसमारोह समितिले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सार्वभौमिकतालाई अक्षुण्ण राख्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरे।

प्रदेश प्रमुख देवकोटाले गणतन्त्र दिवसले आपसी सद्भाव, भ्रातृत्व र एकताको भावना थप मजबुत बनाउन ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पण समेत गरेका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ ललितपुरका अध्यक्ष रामहरी कार्की, पत्रकार पोष्टराज अधिकारी, सुनिता विष्ट र युवराज श्रेष्ठलाई जनही ५० हजार रुपैयाँ नगदसहित ‘प्रदेश संस्थागत विकास पत्रकारिता’ पुरस्कार प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्