प्रतिनिधि सभाको नयाँ हल तयार भएको सहरी विकास मन्त्रालयको दाबी, सचिवालय असन्तुष्ट
जेठ १५, काठमाडौं । सहरी विकास मन्त्रालयले प्रतिनिधि सभाको नयाँ हल बैठक सञ्चालन गर्न मिल्ने गरी तयार भएको दाबी गरेको छ। मन्त्रालयका अनुसार हलको सरसफाइदेखि आवश्यक पूर्वाधारसम्मको काम सम्पन्न गरी बैठक बस्न सक्ने अवस्था बनाइएको हो।
मन्त्रालयले हाल बहुउद्देश्यीय हलमा उपलब्ध सबै सुविधा नयाँ हलमा पनि राखिएको जनाएको छ। हलमा फर्निचर जडान सम्पन्न भएको, दुई वटा ठूला डिस्प्ले राखिएको, सभामुखको आसन र रोस्ट्रममा माइक जडान गरिएको तथा स्पिकरहरू समेत स्थापना गरिएको जानकारी दिएको छ।
मन्त्रालयले नयाँ हलमै बैठक सञ्चालन गर्न आग्रह गरेपछि सभामुख तथा संसद सचिवालयका पदाधिकारीहरूले शुक्रबार बिहान हलको निरीक्षण गरेका थिए।
तर संसद सचिवालयले भने हल अझै पूर्ण रूपमा तयार नभएको निष्कर्ष निकालेको छ। सचिवालयका अनुसार हलमा खार लाग्ने समस्या देखिएको, कार्यव्यवस्था समितिलगायत आवश्यक बैठक कक्ष तयार नभएको तथा सांसदहरूको सिटमा माइक जडान नगरिएको अवस्था छ।
त्यस्तै सुरक्षा व्यवस्था, पावर ब्याकअपको सुनिश्चितता, प्रवेश तथा बाहिरिने मार्गको काम अधुरो रहेको र प्राविधिक तयारी पूरा नभएकाले तत्काल बैठक सञ्चालन गर्न नसकिने सचिवालयको भनाइ छ।
नयाँ हलमा सिट र डेस्कबीचको दुरी धेरै भएको भन्दै सभामुख डोलप्रसाद अर्यालले यसअघि नै सच्याउन सुझाव दिएका छन्। त्यस्तै माथिल्लो ग्यालरी बैठक कक्षका सिटबाट बैठक अवलोकन गर्न नमिल्ने अवस्था छ। आजको बजेट पुरानै हलमा आउने भएको छ।




प्रतिक्रिया दिनुहोस्