माइक थुतेको घटनाबारे राजेन्द्रकुमार राईको स्पष्टीकरण

जेठ १४, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का कोशी प्रदेश सांसद राजेन्द्रकुमार राई ले प्रदेश सभामा बुधबार भएको माइक थुतेको घटनाबारे स्पष्टीकरण दिएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव दर्ता गर्न समय नदिइएको विरोधस्वरूप आफूहरू प्रतिवादमा उत्रिन बाध्य भएको बताएका हुन्।

उनले लेखेका छन्, “प्रमुख प्रतिपक्ष र अन्य प्रतिपक्षका तर्फबाट संशोधन समयको माग हुँदा पनि नियमावली र संसदीय परम्परा नमिच्न अनुरोध गर्दागर्दै पनि समन्वय र छलफलमार्फत सहमतिमा पुग्नुको साटो जबर्जस्ती संसद चलाउने प्रयास गरियो। सदन नियम र नियमावलीभन्दा शक्ति प्रयोग गरेर चलाउन खोजिएपछि त्यसको प्रतिवाद गर्न बाध्य भयौं।”

राईले आगामी दिनमा पनि यस्तै व्यवहार दोहोरिए प्रतिवाद जारी रहने चेतावनीसमेत दिएका छन्।

उनका अनुसार विगतका आठवटा बजेट अधिवेशनमा सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा सांसदहरूलाई संशोधन प्रस्ताव दर्ता गर्न ७२ घण्टाको समय दिने अभ्यास रहँदै आएको थियो। कोरोना महामारी र कडा लकडाउनको समयमा समेत उक्त समय नघटाइएको उनले उल्लेख गरेका छन्।

“अहिले कुनै आपतविपत वा विशेष हतारो नभएको अवस्थामा पनि जबर्जस्ती संशोधन हाल्ने समय दिइएको छैन,” उनले बताएका छन्।

राईले संघीय संसदमा पूर्वप्रधानमन्त्री, प्रदेश सभामा पूर्वमुख्यमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेतालाई बोल्ने समयसीमा नतोक्ने परम्परा रहेको दाबी गर्दै कोशी प्रदेशमा भने त्यसको विपरीत अभ्यास भइरहेको आरोप लगाए।

उनले गत बजेट अधिवेशनमा पूर्वमुख्यमन्त्रीलाई समय सीमा लगाउने विषयमा विवाद भएको र अन्ततः सभामुखले सबै दलका नेतासहितको बैठकबाट समय सीमा नतोक्ने लिखित सहमति गराएको स्मरण गरेका छन्।

तर यसपटक भने पूर्वमुख्यमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र आङ्वो लाई समेत बोल्न नदिने वा अधिकतम ७ मिनेटको समय सीमा तोक्ने प्रयास गरिएको उनले आरोप लगाए।

कार्य व्यवस्था समितिमा यस विषयमा प्रमुख प्रतिपक्षी दलका सचेतकले लामो समय विवाद गर्नुपरेको पनि उनले बताएका छन्।

“प्रतिपक्षमाथि यस प्रकारको दबाब र पेलान भएपछि प्रतिवाद अनिवार्य बन्नु स्वाभाविक हो,” राईको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्