सरकार जन अपेक्षाअनुसार अवस्था परिवर्तन गर्ने आफ्नो मूल कर्तव्यबाट विचलित भएको
काठमाडौं, १३ जेष्ठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकार कर्तव्यबाट विचलित भई व्यवस्था माथिको प्रहारमा उत्रिएको आरोप लगाएका छन् । उनले सरकार जनअपेक्षाअनुसार अवस्था परिवर्तन गर्ने आफ्नो मूल कर्तव्यबाट विचलित भएको सेमेत आरोप लगाए।
बुधबार नेपाल प्रेस युनियनको ३५ औं स्थापना दिवस तथा विधानसभाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले सरकार लोकतान्त्रिक व्यवस्थामाथि नै प्रहार गर्न उद्यत रहेको आरोप लगाए ।
प्रवक्ता चालिसेले संसदीय प्रणालीभित्रै बसेर सरकारले यसको मर्मविपरीत काम गरिरहेको टिप्पणी गरे । नेपालको भू–राजनीति र जनसाङ्ख्यिक अवस्थितिलाई दृष्टिगत गर्दै संसदीय शासन प्रणाली रोजिएको स्मरण गराउँदै उनले अहिले सरकारबाटै यस प्रणालीमाथि अदृश्य रूपमा आक्रमण भइरहेको दाबी गरे ।
उनले अध्यादेश जारी गर्ने शैली, अदालतका प्रसंग, नागरिक अधिकार, प्रेस स्वतन्त्रता र संघीयताको कार्यान्वयनमा देखिएका कमजोरीलाई संसदीय लोकतन्त्रमाथिको चुनौती भएको बताए ।
प्रवक्ता चालिसेले सञ्चारकर्मीहरूलाई सत्यको पक्षमा अविचलित भएर उभिन आग्रह गरे ।
सन् १९५३ मा अमेरिकामा रंगभेद विरुद्ध रोजा पाक्र्सले गरेको सानो विद्रोहले नागरिक अधिकार प्राप्तिमा ल्याएको ठूलो परिवर्तनको उदाहरण दिँदै उनले पत्रकारको कलमले नै स्वतन्त्रताको रक्षा गर्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘अहिलेको सरकार अवस्था परिवर्तनका लागि म्यान्डेट पाएको हो, तर सरकार आफ्नो कर्तव्य भुलेर प्रणालीमाथि नै प्रहार गरिरहेको छ । झुटले लेखिएको इतिहास मेटिन सक्छ, तर सत्यको आवाज सधैँ अमर रहन्छ । कुनै पनि तानाशाह वा शक्तिले स्वतन्त्रतालाई पराजित गर्न सक्दैन । कांग्रेसले चुनाव हार्न सक्छ तर देशले जित्नुपर्छ भन्ने हाम्रो मान्यता हो । निर्वाचन आउँछन् जान्छन्, तर लोकतन्त्र र स्वतन्त्रता स्थायी हुन् ।’




प्रतिक्रिया दिनुहोस्