सरकारले सार्वजनिक गर्‍यो स्वास्थ्य क्षेत्रको प्रगति विवरण: परिवार नियोजन, रोग नियन्त्रण र उपचार सेवामा उल्लेख्य विस्तार

 

जेठ १३ ; काठमाडौं — सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म स्वास्थ्य क्षेत्रमा सञ्चालन भएका विभिन्न कार्यक्रमहरूको उपलब्धि सार्वजनिक गरेको छ।

आर्थिक सर्वेक्षण २०८२/८३ मार्फत परिवार नियोजन, क्षयरोग, एचआइभी/एड्स, औलो, डेंगी लगायतका रोग नियन्त्रण तथा उपचार सेवासम्बन्धी प्रगति विवरण सार्वजनिक गरिएको हो।

सरकारी तथ्यांकअनुसार फागुनसम्म अस्थायी परिवार नियोजन साधन प्रयोग गर्नेको संख्या ११ लाख २७ हजार ४ सय ४६ पुगेको छ भने स्थायी विधि अपनाउनेको संख्या ११ लाख २४ हजार ९ सय ९३ रहेको छ।

क्षयरोग नियन्त्रणतर्फ देशभर ६ हजार २ सय ४१ डट्स सेवा केन्द्र सञ्चालनमा रहेका छन् भने सो अवधिमा २४ हजार ३ सय ३८ बिरामीले उपचार सेवा लिएका छन्। ‘क्षयरोग मुक्त नेपाल अभियान’ १४९ स्थानीय तहमा विस्तार गरिएको छ।

औलो रोग नियन्त्रणका लागि फागुनसम्म २ लाख १ हजारभन्दा बढीको नमुना परीक्षण गरिएकोमा ७२१ जनामा संक्रमण पुष्टि भएको सरकारले जनाएको छ।

एचआइभी/एड्स नियन्त्रण कार्यक्रमअन्तर्गत ४ लाख ५६ हजार ८ सय १७ जनामा परीक्षण गरिएकोमा १ हजार २ सय २० जनामा संक्रमण पुष्टि भएको छ भने २७ हजार ५ सय २६ संक्रमित व्यक्ति एन्टिरेट्रोभाइरल उपचार सेवामा आबद्ध रहेका छन्।

डेंगी संक्रमण भने देशभर फैलिएको देखिएको छ। फागुनसम्म १७ हजार ७ सय जनामा संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ।

यस्तै मुटुरोग उपचार कार्यक्रमअन्तर्गत ३६२ बिरामीको मुटुको भल्भको निःशुल्क शल्यक्रिया गरिएको छ। साथै १५ वर्षमुनिका ४९३ बालबालिका, ७५ वर्षमाथिका ९३२ ज्येष्ठ नागरिक तथा १८७ जनाको पिटिएमसी उपचार निःशुल्क रूपमा सम्पन्न गरिएको सरकारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्