‘राजनीतिले छक्का हान्न खोज्छ, तपाईं बाउन्ड्रीमै बस्नुस्’ : बजेटअघि पूर्व अर्थमन्त्रीहरूको स्वर्णिम वाग्लेलाई सुझाव वर्षा
जेठ १३, काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारीमा जुट्नुभएका अर्थमन्त्री स्वर्णिम वाग्ले ले बुधबार पूर्व अर्थमन्त्रीहरूसँग व्यापक छलफल गर्दै सुझाव संकलन गर्नुभएको छ।
काठमाडौंमा आयोजित कार्यक्रममा आठ जना पूर्व अर्थमन्त्रीहरूले अर्थतन्त्र सुधारदेखि सरकारी खर्च कटौती, निजी क्षेत्रको मनोबल वृद्धि, सहकारी संकट, कृषि, पर्यटन, उद्योग, पूर्वाधार र वित्तीय अनुशासनसम्मका विषयमा सरकारलाई स्पष्ट सुझाव दिएका छन्।
कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले ले “सुशासनको जगमा टेकेर आम नेपालीको जीवनस्तर उकास्ने बजेट” ल्याउने तयारी भइरहेको बताउँदै विगतका राम्रा अभ्यासलाई अनुशरण गर्ने प्रतिबद्धता जनाउनुभयो।
‘महत्त्वाकांक्षी होइन, यथार्थवादी बजेट बनाऔँ’
पूर्व अर्थमन्त्री युवराज खतिवडा ले राजस्व लक्ष्य अवास्तविक नराख्न सुझाव दिँदै भन्नुभयो, “अर्थमन्त्रीहरू बाउन्ड्रीमा बस्न खोज्छन्, तर राजनीतिले छक्का हान्न खोज्छ। तपाईं बाउन्ड्रीमै बस्नुस्।”
उहाँले १५ प्रतिशतभन्दा बढी राजस्व वृद्धिको लक्ष्य नराख्न, बजेट करिब साढे २० खर्बको बनाउन र खर्च यथार्थमा आधारित हुनुपर्ने धारणा राख्नुभयो। साथै अन्तःशुल्क घटाउँदै लैजान, वित्तीय क्षेत्र सुधार गर्न र निजी क्षेत्रको आत्मविश्वास बढाउनुपर्नेमा जोड दिनुभयो।
‘टुक्रे योजना र अनावश्यक खर्च रोकौँ’
पूर्व अर्थमन्त्री रामेश्वर खनाल ले तयारी नभएका टुक्रे आयोजना र खुद्रे बजेट वितरण रोक्न सुझाव दिनुभयो। विद्युत्मा मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउन पनि उहाँको आग्रह थियो।
त्यस्तै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे ले राष्ट्रिय गौरवका आयोजनाको संख्या घटाएर सीमित आयोजनामा प्रभावकारी लगानी गर्नुपर्ने धारणा राख्नुभयो। “पहाड छेडेर सुरुङ बनाउने बेला आएको छ,” उहाँले भन्नुभयो।
निजी क्षेत्र, उद्योग र पर्यटनमा जोड
पूर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनी ले सरकार र निजी क्षेत्रबीच सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो। कृषिमा अनुदान, उद्योगलाई प्रोत्साहन र भारतीय बजारमा नेपाली कृषि उत्पादनको पहुँच विस्तार गर्न आर्थिक कूटनीति आवश्यक रहेको उहाँको भनाइ थियो।
पूर्व अर्थमन्त्री वर्षमान पुन ले पूर्वाधार बने पनि त्यसको आर्थिक प्रतिफल कमजोर रहेको उल्लेख गर्दै पर्यटन केन्द्रित ‘हिल स्टेशन’ विकास गर्न सुझाव दिनुभयो। भारतको बढ्दो मध्यम वर्गलाई लक्षित गर्दै नेपाललाई विवाह गन्तव्यका रूपमा विकास गर्नुपर्ने उहाँको धारणा थियो।
‘निजीकरण गर्न आँट गर्नुस्’
पूर्व अर्थमन्त्री प्रकाश शरण महत ले सामाजिक सुरक्षा भत्ता आवश्यकतामा आधारित बनाउन, नेपाल वायुसेवा निगमलाई निजीकरण मोडलमा लैजान र सरकारी उद्योग तथा जमिन निजी क्षेत्रलाई लिजमा दिन सुझाव दिनुभयो।
उहाँले पाँच अर्बभन्दा माथिका ठेक्कामा सीमित समूहको मिलेमतो हुने गरेको दाबी गर्दै ठूला ठेक्का टुक्र्याएर प्रतिस्पर्धा बढाउनुपर्ने बताउनुभयो।
‘खानी बेचौँ, गेम चेन्जर परियोजना सुरु गरौँ’
पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल ले खर्चको यथार्थ अनुमानका आधारमा बजेट बनाउनुपर्नेमा जोड दिँदै खानी उत्खनन र बुढीगण्डकीजस्ता ‘गेम चेन्जर’ परियोजना अघि बढाउन आग्रह गर्नुभयो।
‘निर्मम भएर खर्च कटौती गरौँ’
पूर्व अर्थमन्त्री जनार्दन शर्मा ले बजेटलाई “राजनीतिक संकल्प पूरा गर्ने दस्तावेज” को संज्ञा दिँदै सरकारी खर्च कटौतीमा निर्मम हुन आग्रह गर्नुभयो। उहाँले कृषि, खानी, औषधि उद्योग, मल कारखाना, सीपमूलक शिक्षा र सीमा बजार विकासमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
‘सही मान्छे सही ठाउँमा’
पूर्व अर्थमन्त्री शंकर कोइराला ले “सही मान्छे सही समयमा सही ठाउँमा आएको” भन्दै अर्थमन्त्री वाग्लेलाई सफलताको शुभकामना दिनुभयो। उहाँले ऊर्जा व्यापार निजी क्षेत्रलाई खुला गर्न, वनसम्बन्धी अवरोध हटाउन र औद्योगिक क्षेत्र विस्तार गर्न सुझाव दिनुभयो।
आगामी बजेटमार्फत सरकारले आर्थिक सुधार, सुशासन, निजी लगानी प्रवर्द्धन र विकास खर्चको प्रभावकारितालाई कसरी सम्बोधन गर्छ भन्ने चासो अहिले बढ्दो छ। पूर्व अर्थमन्त्रीहरूको सुझावले सरकारलाई यथार्थवादी, अनुशासित र परिणाममुखी बजेट बनाउन दबाबसमेत थपेको देखिन्छ।




प्रतिक्रिया दिनुहोस्