लोकतन्त्रवादी पत्रकारहरूको साझा घर नेपाल प्रेस युनियन को ३५औँ स्थापना दिवस आज, काठमाडौंमा विधान महाधिवेशन हुँदै

जेठ १३ ,काठमाडौं । लोकतन्त्र, प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारहरूको हकहितका पक्षमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय नेपाल प्रेस युनियन ले आज देशभर विविध कार्यक्रम गरी आफ्नो ३५औँ स्थापना दिवस मनाउँदैछ। स्थापना दिवसको अवसरमा केन्द्रीय समितिले काठमाडौंमा विशेष विधान महाधिवेशन आयोजना गरेको छ भने देशभरका शाखाहरूले पनि प्रभातफेरी, अन्तरक्रिया तथा शुभकामना कार्यक्रम सञ्चालन गरेका छन्।

महाधिवेशनको पूर्वसन्ध्यामा आज बिहान ७ बजे माइतीघर मण्डलामा प्रभातफेरी आयोजना गरिनेछ। त्यसपछि बिहान ९ बजेदेखि विधान महाधिवेशन सुरु हुने युनियनका अध्यक्ष शिव लम्साल ले जानकारी दिनुभयो। महाधिवेशनको उद्घाटन नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव ले गर्ने कार्यक्रम तय गरिएको छ।

युनियनका उपाध्यक्ष जीवन भण्डारी का अनुसार विधान महाधिवेशनका लागि देशभरका शाखाबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन्।

वि. सं . २०४८ साल जेठ १३ गते श्रमजीवी पत्रकारहरूको हकहित संरक्षणका लागि भएको ट्रेड युनियन आन्दोलनको जगमा स्थापित नेपाल प्रेस युनियन आज नेपालका लोकतन्त्रवादी पत्रकारहरूको सशक्त साझा संगठनका रूपमा स्थापित छ। सञ्चारकर्मीलाई संगठित गर्दै श्रमजीवी पत्रकारहरूको आवाज उठाउँदै आएको युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघबाट नेपालमा सदस्यता प्राप्त गर्ने पहिलो पत्रकार संगठन पनि हो।

युनियनको पहिलो तदर्थ समितिको संयोजक पूर्वमन्त्री तथा वरिष्ठ पत्रकार जेपी गुप्ता हुनुहुन्थ्यो। संस्थापक सदस्यहरूमा हरि अधिकारी, रमेश तुफान, राजेश ढुंगाना, शिरीषबल्लभ प्रधान, शोभाकर पराजुली, जगदीश घिमिरे, कन्हैयालाल केशरी, राजेश्वर नेपाली, हरिहरप्रसाद श्रेष्ठ, गणेशप्रसाद नेपाल, तारानाथ दाहाल, कृष्ण कँडेल, योगेश उपाध्याय, यादव थपलिया, रामचन्द्र उप्रेती र गणेशबल्लभ प्रधान रहनुभएको थियो।

युनियनको नेतृत्व हालसम्म हरि अधिकारी, रमेश तुफान, तारा बराल, कुलचन्द्र वाग्ले, मुरारीकुमार शर्मा, समीरजंग शाह, किरण पोखरेल र बद्री सिग्देलले सम्हालिसक्नुभएको छ भने हाल शिव लम्साल नेतृत्वमा हुनुहुन्छ।

महासचिव दिलीप पौडेल ले युनियनले श्रमजीवी पत्रकारहरूको हकअधिकार, प्रेस स्वतन्त्रता, लोकतन्त्र र मिडियामैत्री नीतिगत व्यवस्थाका लागि निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्