यही बैठकबाट स-सम्मान अध्यक्ष पदबाट बिदा लिनु राम्रो हुन्छः अष्टलक्ष्मी शाक्य
काठमाडौं, ९ जेष्ठ। नेकपा एमालेकी पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीलाई पद छाड्न अनुरोध गरेकी छन्।
एमालेको सचिवालय बैठक चलिरहँदा शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सास रहुञ्जेल पदमा रहने सोँच गलत भएको बताएकी छन्।
‘कमरेड सास रहुन्जेल एमालेको अध्यक्ष भइराख्ने तपाईंको सोँच गलत छ। अहिले एक्काइसौं शताब्दीमा छौं हामी। आजको समयको माग विचार, सामूहिकता, संघर्ष र इमानबाट पार्टी नेतृत्व गर्ने बेला हो। अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण र हस्तान्तरण गर्नुपर्छ। कमरेडले यही बैठकबाट स(सम्मान अध्यक्ष पदबाट बिदा लिनु राम्रो हुन्छ,’ उनले लेखेकी छन्।
ओलीले पद त्यागे एमालेलाई पुनर्जीवित गर्न सकिने र अन्धकारबाट निकाल्न सकिने पनि उनले बताइन्।
उनले ओलीको दम्भ, घमण्ड र गुटगत सोँच अझै पनि उस्तै देखेको बताएकी छन्।
‘निर्वाचन पश्चात गौरवपूर्ण इतिहास बोकेको नेकपा एमाले आज यो कमजोर स्थितिमा पुगेको छ। पुनस् एमालेलाई आन्दोलनको नेतृत्वमा पुर्याउन सकिन्छ। अहिले पनि तपाईंले देखाउनुभएको दम्भ, घमण्ड र गुटगत सोँच म उस्तै देख्छु। बलिदानको रगतले जन्मेको पार्टी हो एमाले। लाखौं कार्यकर्ताहरूको त्याग र संघर्षबाट अगाडि बढेको पार्टी हो एमाले। यो पार्टी तपाईं को मात्र पेवा होइन,’ उनले लेखेकी छन्।
शुक्रबार भएको सचिवालय बैठकमा नेकपा एमालेका उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ र गोकर्ण विष्टले धारणा राखेका थिए। उनीहरूले ओलीलाई पद छाड्न अनुरोध गरेका थिए।
शनिबार पनि गुण्डुस्थित ओली निवासमा बैठक जारी छ। यो बैठकमा अधिकांश सचिवालय सदस्यले अध्यक्षले पद छाड्नुपर्ने धारणा व्यक्त गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्